आगामी चुनाव एक्लै जित्ने गरी तयारी गर्न कार्यकर्तालाई एमालेको निर्देशन
सत्ता गठबन्धनलाई सत्ताकै गोटीले भत्काउन सकिने निष्कर्ष
नेकपा एमालेले स्थानीय तहको मतको समीक्षा गर्दै बहुमतका लागि १६ प्रतिशत मत अपुग रहेको निष्कर्ष निकालेको छ । एमालेले आफ्नो तल्लो कमिटीहरुलाई जनमत बढाउनका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ ।
एमालेले स्थानीय तह चुनावको समीक्षा गर्दै ३४ प्रतिशत मत प्राप्त गरेर सबैभन्दा ठूलो दल बनेको दाबी गरेको छ । ‘ यो स्थानीय निर्वाचनमा सत्ता गठबन्धनको घेराबन्दी, आक्रमण र राज्य शक्तिको दुरुपयोगका बाबजुद सर्वाधिक लोकप्रिय मत (३४ प्रतिशत)सहित हाम्रो पार्टीलाई पहिलो शक्तिको रूपमा स्थापित भएको छ,’ अपानीमा भनिएको छ ।
एमालेले जारी गरेको अन्तर पार्टी निर्देशनमा मत वृद्धिका लागि नयाँ पुस्तामा विशेष ध्यान दिने र मतको संरक्षण गर्ने योजना बनाउन भनेको छ । ‘हामीलाई बहुमत पुग्न करिब १६ प्रतिशत मत अपुग छ, त्यसलाई वृद्धि गर्न सकिन्छ र त्यसका लागि ठोस योजनाका साथ अघि अगाडि बढ्ने, अपानीमा भनिएको छ, ‘नयाँ पुस्तालाई विशेष ध्यान दिने, पार्टीको जनाधार बलियो भएको ठाउँमा जनाधारलाई सुदृढ गर्ने । कमजोर जनाधार भएको ठाउँमा जनाधार विस्तारमा जोड दिने ।’
त्यसैगरी अपानीमा सत्ताका लागि गोटी चाल्दा अहिलेको सत्ता गठबन्धनलाई भत्काउन सकिने निष्कर्ष एमालेको छ । तर अहिले गठबन्धन नै चुनावमा जानसक्ने सम्भावना रहेको भन्दै एक्लै चुनाव जित्नेगरी तयारी गर्न भनेको छ ।
पारस्परिक लाभ भएको महसुस गरेसम्म गठबन्धन कायम रहन सक्ने निष्कर्ष निकाल्दै एमालेले अपानीमा भनेको छ, ‘पारस्परिक लाभ भएको महसुस गरेसम्म गठबन्धन कायम रहन सक्छ । हाम्रो तयारी यस्तो अवस्थामा एक्लै लड्ने र जित्ने हिसाबको हुनुपर्छ । हामीसँग सही नीति र कार्यक्रम छन्, त्यसैले एक्लै लड्ने र पराजित गर्ने सामर्थ्य राख्छौं भन्ने आत्मविश्वास जगाउने ।’