विश्वको जनसङ्ख्या आठ अर्ब नजिक पुगेको छ। अहिले भने विश्वको जनसङ्ख्या सात अर्ब ९५ करोडभन्दा बढी छ । चार महिनापछि विश्व जनसङ्ख्या आठ अर्ब पुग्ने प्रक्षेपण सार्वजनिक भएको छ । विश्व जनसङ्ख्या दिवसका अवसरमा आइतबार संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए)ले आगामी कात्तिक २९ गते (नोभेम्बर १५) विश्वको जनसङ्ख्या आठ अर्ब पुग्ने तथ्य सार्वजनिक गरेको हो । सन् १९८७ जुलाई ११ मा विश्वको जनसङ्ख्या करिब पाँच अर्ब थियो। सन् १९८९ देखि संयुक्त राष्ट्र सङ्घले ११ जुलाईलाई विश्व जनसङ्ख्या दिवसका रूपमा मनाउन थालेको हो । नेपालमा पनि सोही वर्षदेखि मनाइँदै आएको छ ।
यता राष्ट्रिय जनगणना, २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालमा अहिले दुई करोड ९१ लाख ९२ हजार ४८० जनसङ्ख्या छ। आगामी कात्तिकभित्र जनगणनाको पूर्ण विवरण आउँदा करिब तीन लाख जनसङ्ख्या थपिएर र नेपालको जनसङ्ख्या दुई करोड ९४ लाख पुग्ने अनुमान गरिएको केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक डा। हेमराज रेग्मीले बताए। करिब तीन करोडको हाराहारीमा रहेको नेपालको जनसङ्ख्या समानुपातिक रूपमा स्रोत र साधनको वितरण हुँदा चुनौती नबनेको उनको भनाइ छ। आजको गोरखापत्र दैनिकमा समाचार छ ।