दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन माधव नेपालको आग्रह

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आज भन्दा २८ वर्ष पहिले भएको दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । मदन–आश्रितको २८ औं स्मृति दिवसको अवसरमा नेता नेपालले जीप दुर्घटनामा मृत्यु भएका एमाले नेता मदन भण्डारी र जीवराज आश्रितको मृत्युको यथार्थ पत्ता लगाउन सरकारसँग माग गरेका हुन् ।

‘जननेता कमरेड मदन भण्डारी र कमरेड जीवराज आश्रितको रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुःखद् निधन भएको २८ वर्ष बितिसक्दा पनि उक्त घटनाको रहस्य बाहिर आएन,’ नेपालले जारी गरेको विज्ञप्तिमा छ, ‘घटनासँग जोडिएका अमर लामाको रहस्यमय हत्या हुनुले यस घटनालाई झनै रहस्यमय बनाएको छ । त्यसैले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गर्न चाहन्छु ।’

एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको २०५० जेठ ३ गते दासढुङ्गामा जीप दुर्घटनामा मृत्यु भएको थियो । मदनपत्नी विद्यादेवी भण्डारी राष्ट्रपति र मदनका समकालीन नेताहरु अहिले सत्ताको बागडोर सम्हाल्न पुगेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार