इलन मस्कले ट्वीटर नकिन्ने

विश्वका सबैभन्दा धनी व्यक्ति इलन मस्कले ट्वीटर किन्ने सम्झौता रद्द गर्ने भएका छन् । माइक्रोब्लगिङ साइट, ट्वीटरले मर्जर सम्झौताका थुप्रै प्रावधान उल्लंघन गरेका कारण ट्वीटर किन्न आफूले गरेको ४४ अर्ब डलरको सम्झौता रद्द गर्ने इलनको भनाइ छ ।

ट्वीटरले भने अब इलनविरुद्ध मुद्दा हाल्ने जनाएको छ । कम्पनीका अध्यक्ष ब्रेट टेलरले मर्जर सम्झौता लागू गर्न इलनविरुद्ध कानुनी कारबाही गर्ने बोर्ड समितिको योजना रहेको जानकारी दिएका छन् । ‘मस्कसँग सहमति भएको मूल्य र सर्तहरूमा लेनदेन गर्न ट्वीटर बोर्ड प्रतिबद्ध छ र मर्जर सम्झौता लागू गराउन कानुनी कदम चाल्ने हाम्रो योजना छ,’ ब्रेटले ट्वीट गरेका छन्, ‘यसको हाम्रो जित हुनेछ भन्नेमा विश्वस्त छौं ।’

ट्वीटरले स्पाम र नक्कली एकाउन्टबारे पर्याप्त जानकारी नदिएकाले सम्झौताबाट पछि हट्नु परेको मस्कले बताएका छन् । गत मे महिनामा उनले फेक एकाउन्टबारे ट्वीटरसँग पूर्ण विवरण मागेको र त्यो प्राप्त भइनसकेकाले ट्वीटर किन्ने सम्झौता ‘अस्थायी रूपमा होल्डमा रहेको’ बताएका थिए । उनी ट्वीटरका दैनिक सक्रिय प्रयोगकर्ताको संख्या र स्वचालित खाताको संख्याबारे विवरण चाहन्थे । कम्पनीले यसबारे जानकारी नदिएपछि सम्झौता रद्द गर्नुपरेको इलनको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार