विराटनगर महानगरका पूर्व उपप्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

रकम भुक्तानीका क्रममा भ्रष्टाचार गरेको आरोप

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर महानगरपालिकाको पूर्व उपप्रमुखसहित ९ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । विराटनगर महानगरपालिका– १५ स्थित रानी हेल्थपोष्ट नजिकैको पोखरीमा पार्क निर्माण कार्यमा वास्तविक कार्यभन्दा बढी भुक्तानी गरेको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धानपछि आयोगले भ्रष्टाचार ठहर गर्दै मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार विराटनगर महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, सहरी विकास महाशाखा प्रमुख इन्जिनियर गोपाल पोखरेल, इन्जिनियर पुष्पक प्रधान र सव–इन्जिनियर मो। इफतेखार आलमले पोखरीमा पार्क निर्माण कार्यमा उपभोक्ता समितिबाट वास्तविक रुपमा भए गरेको कार्यभन्दा बढी विवरण नापी किताबमा चढाई अनियमितता गरेको पाइएको हो ।

उनीहरुले उपभोक्ता समितिसँगको सम्झौता अनुसारका निर्धारित सर्त तथा मापदण्ड विपरीत ज्यामीद्वारा गर्नुपर्ने माटो फिलिङ्गको कार्य रोलर मेसिनद्वारा गराई उक्त कार्यलाई ज्यामीद्वारा गरेको भनी गैरकानूनी लाभ प्राप्त गर्ने बदनियतले कार्य सम्पन्न प्रतिवेदन तयार गरी महानगरपालिकामा पेस गरेको, झुट्टा डोरहाजिर, गलत नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरी सो कागजातहरु स्वीकृत गरी भुक्तानीसमेत दिएको पाइएको आयोगको भनाइ छ ।

आयोगले एकदेव अधिकारी, गोपाल पोखरेल, पुष्पक प्रधान र मो। इफतेखार आलमलाई १० लाख ५५ हजार ९७९ रुपैयाँ ४८ पैसा बिगो कायम गरी बिगो बमोजिम जरिवाना गरी बिगो असुल उपरको मागदाबी सहित आरोपपत्र दायर गरेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार