एमालेको अवरोधपछि गण्डकी प्रदेशसभा बैठक स्थगित

नेकपा एमालेको अवरोधका कारण गण्डकी प्रदेश सभाको बैठक स्थगित भएको छ । प्रतिपक्षी दल नेकपा एमालेले सत्तारुढ दलले मध्यकालीन बजेट खर्च संरचना नल्याएको, बजेटमा काननुविपरीत तोकिएकोभन्दा बढी आन्तरिक ऋण उल्लेख गरेको र पूर्वाधार विकास बजेटबारे यथार्थ जानकारी दिन माग गर्दै संसद अवरुद्ध गरेको हो ।

गण्डकीका नेकपा एमालेका सांसद तथा पूर्वभौतिक विकासमन्त्री रानमशरण बस्नेतले अर्थमन्त्री रामजी बरालले आगामी आर्थिक वर्षको कानुन विपरीत राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तोकेको आन्तरिक ऋणको सीमा उल्लंघन गरेको बताए । यसबारे आयोगले असार १३ गते प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र पठाइसकेको छ ।

अर्थमन्त्री बरालले बजेट व्यवस्थापनका लागि ९ अर्ब २३ करोड रुपैयाँ प्रदेश सरकारबाट संघ सरकारबाट र ५ अर्ब ९ करोड प्रदेशबाट राजश्व उठाउने बताएका थिए । त्यस्तै, बजेटमा बरालले २ अर्ब ऋण लिने उल्लखे गरेका थिए । तर, आयोगको नियमअनुसार राजश्व बाँडफाँड र आन्तरिक राजश्वबाट प्राप्त हुने रकमको १२ प्रतिशतसम्ममात्रै ऋण लिन पाइन्छ ।

सबैभन्दा बढी विवादित बनेको पूर्वाधार विकास बजेटबारे पनि नेकपा एमालेले अर्थमन्त्रीसँग जवाफ मागेको छ । नीति तथा कार्यक्रम तथा वार्षिक बजेट पुस्तिकामा पनि समावेश नभएको तर, सम्बोधन गरिने सूचना पाएकाले त्यसबारे यथार्थ बाहिर ल्याउन उनीहरुको माग छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार