टीकापुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा

कैलालीको टीकापुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । हालै यहाँ आयोजित कार्यक्रममा नगरप्रमुख रामलाल डगौरा थारूले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका एवं दीगोपना घोषणा गरेका हुन् ।

सो अवसरमा उद्योग पर्यटन तथा वातावरणमन्त्री मानबहादुर धामीले कैलालीमा टीकापुर, भजनी, गौरीगङ्गा पालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा भएको जनाउँदै दिगो विकास लक्ष्य प्राप्तिका लागि गरेका कामको सरहाना गरे ।

“समयमै १५ देखि २३ महिनासम्मका बालबालिकालाई सबै खोप लगाउन पालिकाले गरेको कार्यले आज पूर्णखोप सुनिश्चित पालिका घोषणा भएको छ”,उनले भने, “आउँदा दिनमा पनि निरन्तरता दिनुहोला । स्वास्थ्यमा पालिकाले गरेका कार्यले अन्य पालिकालाई पनि प्रेरणा मिल्नेछ ।” मन्त्री धामीले पूर्णखोप घोषणालगायतका कार्यका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताए ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठनका डा निमेश खतिवडाले टीकापुरले अब कोभिड–१९ खोप पनि सबैलाई समयमै लगाएर चाँडै पूर्णखोप घोषणा गर्नेमा आशावादी रहेको बताए । टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपट सोडारीले टीकापुरका नागरिकलाई सहज स्वास्थ्य सेवाका लागि टीकापुर अस्पतालले पालिकाहरूसँग समन्वय गरेर सेवा दिइरहेको बताए । “हामीकहाँ सातामा दुई दिन खोप कार्यक्रम सञ्चालन हुन्छ, अस्पतालमा खोप सेवा लिनेको सङ्ख्यासमेत धेरै छ”, उनले भने, “सहज सेवाका लागि काम गरिरहेका छौँ ।”

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार