वडाध्यक्षहरुसँग हर्क साम्पाङको आक्रोश : स्वतन्त्र भनेर हेपेको ?

धरान उपमहानगरपालिकाको बिहिबार बसेको कार्यपालिका बैठकमा मेयर हर्क साम्पाङ र वडाध्यक्षहरु बिच कडा सवालजवाफ भएको छ । उपमहानगरको बजेट पारित गर्नका लागि वडाध्यक्षहरुले अवरोध गर्न खोजेपछि मेयर साम्पाङ आक्रमक रुपमा प्रस्तुत भएका थिए ।

साम्पाङले बैठकको सुरूवातमै कडा आक्रोश व्यक्त गरेका थिए ।साङपाङले भने स्वतन्त्र उम्मेदवार भएर जितेको मेयरलाई वडाध्यक्षहरूले विभिन्न बहाना गरेर असफल बनाउन खोजेको गुनासो गरे ।

‘तपाईंहरूको नियत के हो ? स्वतन्त्रले जित्यो, यसलाई उ गर्नुपर्छ भन्ने हो ? कि के हो ? यो बजेट त तपाईंहरूले नै बनाएको हो त । मैले यसो गर्नुपर्छ, उसो गर्नुपर्छ भन्या हो र ? मैले कुनै पनि कुरामा हस्तक्षेप गर्‍या छैन । आफैंले बनाएको कुरा आफैं जिम्मा नलिने भन्न मिल्छ ? आफैंले जन्माएको छोरा मेरो होइन भन्दिने ? के म्यासेज जान्छ ?

मेयरको यस्तो अभिव्यक्तिपछि एकाध वडासदस्यले टेबुल ठोकेर समर्थन गर्छन् । तर, केही वडाध्यक्ष उत्तेजित बन्दै हल्लाखल्ला गरे । वडा नम्बर १२ का वडाध्यक्ष टंकबहादुर राईले बजेटको किताब टेबलका ठोक्दै बम्किए, ‘हेरौं कसरी बजेट पास हुँदो रहेछ ? यसरी हुन्छ ?’

गत असार १० गते धरान उपमहानगरले एक अर्ब ६८ करोड ५८ लाख २३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । उक्त बजेटमा दलीय जनप्रतिनिधिहरूले आपत्ति जनाएका थिए । यही विवादले बजेट पारित हुन सकिरहेको थिएन ।

अन्य कार्यपालिका सदस्यले पनि होहल्ला गरेपछि उपमेयर अइन्द्रविक्रम बेघाले थामथुम पार्ने कोसिस गरे । उनले स्वतन्त्रबाट जितेको भन्दैमा दलका प्रतिनिधिहरूले विरोधमात्रै गर्न नहुने बताए ।उपमेयरको सम्बोधनपछि बैठक शान्त भयो र छलफल अघि बढेको थियो । उक्त बैठकले बजेट पारित गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार