सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ : प्रधानसेनापति

'सीमाको विषयलाई नजिकबाट नियालिरहेका छाैँ'

प्रधानसेनापति प्रभुराम शर्माले सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने बताएका छन् । उनले सीमा सुरक्षा र व्यवस्थापनमा सीमा क्षेत्रका नागरिकलाई पनि साथमा लिएर अघि बढ्नुपर्ने धारणा राखेका छन् ।

‘सेनाले सीमाको विषयलाई नजिकबाट नियालिरहेको छ,’ जंगी अड्डाले आयोजना गरेको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनसम्बन्धी गोष्ठी समापनका क्रममा प्रधानसेनापति शर्माले भने ।

प्रधानसेनापति शर्माले सीमा सुरक्षा र सीमा व्यवस्थापन प्रभावकारी रूपमा गर्न एकीकृत सीमा व्यवस्थापन नीति, सीमा सुरक्षामा डेडिकेटेड फोर्सको विकास, सीमा क्षेत्रका नागरिकलाई सीमा सुरक्षा र व्यवस्थापनमा सँगसँगै लैजानुपर्ने र सीमा विवाद कूटनीतिक माध्यमबाट गर्नुपर्नेलगायतका सुझाव दिएका छन् ।

प्रधानसेनापति शर्माले आकाशको सीमालाई पनि उत्तिकै संवेदनशीलताका साथ रेखदेख गर्नुपर्ने अवस्था आएको बताएका छन् । चारवटै सुरक्षा निकायले सीमा सुरक्षाप्रति चनाखो हुनुपर्नेमा उनको जोड छ । उनले सीमा क्षेत्रमा क्रियाशील निकायहरुबीच स्पष्ट जिम्मेवारी तोक्न आवश्यक रहेको पनि औंल्याए ।
यसअघि २०७७ माघमा राष्ट्रिय सुरक्षा परिषद् सचिवालयले आयोजना गरेको ‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायहरुबीच समन्वयका क्षेत्रहरु’ विषयक गोष्ठीमा सेनाले अन्तर्राष्ट्रिय खुला सिमाना व्यवस्थित गर्न नसके आतंकवादी तथा अपराधीबाट चुनौती हुने भन्दै सीमाको वैज्ञानिक व्यवस्थापनमा जोड दिएको थियो । त्यसको डेढ वर्षपछि पुनस् सेनाले सीमाबारे आफ्नो धारणा सार्वजनिक गरेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार