कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन : गोपाल शर्मा र सीता नेपाली मन्त्री नियुक्त

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका सिफारिशमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेका हुन् ।

प्रदेश प्रमुख कलौनीले मुख्यमन्त्री शाहीका नेतृत्वमा ६ सदस्यीय मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । श्री नन्दसिंह बुढालाई उद्योग, पर्यटन, वन तथा वातावरण, अम्मरबहादुर थापालाई भौतिक पूर्वाधार तथा शहरी विकास, कुर्मराज शाहीलाई भूमिव्यवस्था, कृषि तथा सहकारी, सीताकुमारी नेपालीलाई आन्तरिक मामिला, कानून, युवा तथा खेलकूद र गोपाल शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालय दिइएको छ ।

गत बुधवार मात्र मुख्यमन्त्रीले तीनजना मन्त्री नियुक्त गरेका थिए । तर सत्ता साझेदार कांग्रेसको असन्तुष्टिका कारण उनीहरुको शपथ रोकिएको थियो । कांग्रेसले दुईवटा मन्त्रालय मागेपछि माओवादीका मन्त्रीहरुको शपथ रोकिएको थियो ।

यसअघि मन्त्रीमा नियुक्त भए पनि शपथ रोकिएका माओवादीका सांसद विन्दमान विष्ट भने पछाडि हटेका छन् । कांगेसलाई दुई मन्त्रालय दिनुपर्ने भएपछि विष्ट पछाडि हटेको मुख्यमन्त्री निकट एक नेताले बताए ।

यसैबीच प्रदेश प्रमुख कलौनीसँग आइतबार भएको भेटमा मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई प्रदेश सरकारले कोरोना महामारीको रोकथाम र नियन्त्रणका लागि चालेका थप कदमबारे तथा प्रदेश अस्पतालमा ’डेडिकेटेड कोरोना उपचार संयन्त्र’ को व्यवस्था गरी प्रदेशलाई पर्याप्त हुने गरी अक्सिजन उत्पादनका काममा सरकार लागिसकेको जानकारी दिए ।

प्रदेश प्रमुख कलौनीले जनताको जीवनरक्षाको कामलाई सबैभन्दा बढी प्राथमिकता दिएर काम गर्न र अपुग अक्सिजनको तत्काल व्यवस्था गर्न सुझाव दिए । उनीहरुबीच प्रदेश अस्पतालको वर्तमान क्षमता र अवस्थाबारे पनि छलफल भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार