बूढीगंगा नगरपालिकाको निर्वाचनमा आज पनि तनाव, प्रहरीले गोली चलायो

बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा आज नयाँ जनप्रतिनिधि चयन गर्न लागि जारी मतदानमा पनि विवाद भएको छ । नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच तनावको स्थिति सिर्जना भएपछि प्रहरीले हवाई फायर गरेको छ ।

जारी निर्वाचनमा बूढीगंगा नगरपालिकाको भावी मेयर पदका लागि नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार छन् ।

निर्वाचन आयोगले उक्त नगरपालिकामा गत ३० वैशाखको मतदान रद्द गरी यही आजको लागि पुनः मतदानको निर्णय गरेको थियो ।

वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले वीच विवाद हुँदा मतदान स्थगित गरिएको थियो । निर्वाचनमा कांग्रेस र एमालेले धाँधली गरेको आरोप लगाएपछि मतदान स्थगित गरिएको थियो ।

निर्वाचन आयोगले गरेको स्थलगत अध्ययनले पुनः निर्वाचन गर्ने निष्कर्ष निकालेको थियो । निर्वाचन पुन हुनुपर्ने माग गर्दै अदालतमा मुद्धा समेत दायर भएको थियो ।

मतदानका क्रममा सुरक्षा कमजोरी गरेको भन्दै सिडिओ, नेपाल प्रहरी र शसस्त्र प्रहरीका डीएसपीलाई हटाइएको थियो।

नगरपालिकामा १२ हजार ६ सय ५९ मतदाता रहेका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार