जनार्दन शर्मामाथिको छानबिन नसकिएसम्म माओवादीले अर्को अर्थमन्त्री नबनाउने

पुन भन्छन्- 'उहाँले उच्च नैतिकता प्रदर्शन गर्नु भयाे'

नेकपा (माओवादी केन्द्र)ले जनार्दन शर्मामाथिको छानबिन नसकिएसम्म अर्को अर्थमन्त्री नबनाउने भएको छ।बजेट निमार्णका क्रममा अनधिकृत मानिसलाई अर्थ मन्त्रालयमा प्रवेश गराइ करका दर हेरफेर गरेको आरोप लागेपछि शर्माले बुधबार संसदमा राजीनामा घोषणा गरेका छन्। उनीमाथि छानबिन गर्न संसदले ११ सदस्यीय विशेष समिति बनाएको छ।

उक्त समितिले छानबिन नसकेसम्मका लागि माओवादीले अर्को व्यक्तिलाई अर्थमन्त्री नबनाउने भएको छ।संसद भवन बाहिर पत्रकारसँग कुरा गर्दै माओवादी नेता वर्षमान पुनले शर्माले राजीनामा दिएर उच्च नैतिकता प्रदर्शन गरेको बताए।

‘पार्टीले उहाँलाई राजीनामा दिन सुझाव दिएको थियो, अनिवार्य भनेको थिएन,’ पुनले भने,‘उहाँले राजीनामा दिएर उच्च नैतिकता प्रदर्शन गर्नुभयो। छानबिन नसकिएसम्म पार्टीले अरूलाई अर्थमन्त्री बनाउँदैन।’

छानबिनमा शर्मा निर्दोष सावित भएपछि उनी नै अर्थमन्त्री बन्ने पुनले बताए।यसअघि पनि अर्थमन्त्रीबारे छानबिन गर्न समिति बने पनि तत्कालीन अर्थमन्त्रीहरूले राजीनामा नदिएको प्रसंग उठाउँदै पुनले यसपालि प्रमुख प्रतिपक्षीले बढी नै विरोध गरेको बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार