कर्णालीको विवाह : आमालाई ‘दुध कोसेली’ के हाे ?

कर्णालीका कैयौँ गाउँबस्तीमा विवाहको दिन दुलही लिन जानुअघि दुलहालाई उनकी आमाले स्तनपान गराउने र छोराले आमालाई कोसेली दिने चलन अहिले पनि कायम छ। आफ्नै आमा नभएका दुलहालाई पनि काकी, सानीमा वा ठूलीआमाले विधि पुर्‍याउनै भए पनि स्तनपान गराउँछन्।

मागीविवाह गर्दा मात्र दुलहाले स्तन चुसेर आमालाई चामलबाट बनेको लड्डु र अर्सा रोटीलाई भोर्लाको पातको पोकाभित्र राखेर कोसेली दिन्छन्।

छोरा जति नै उमेरको भए पनि विवाहमा अनिवार्य रूपमा स्तन चुसाउने र ‘दूध कोसेली’ दिने चलन रहेको मानिसहरू बताउँछन्।कर्णाली प्रदेशका दैलेख, पश्चिम सुर्खेत, जुम्ला, कालीकोटका साथै सुदूरपश्चिम प्रदेशका अछाम, डोटीसहितका जिल्लामा यो चलन वर्षौँदेखि चल्दै आएको बताइन्छ।स्थानीय बासिन्दाका अनुसार स्तन चुसेर आमालाई दिने कोसेलीलाई ‘दूध कोसेली’ भनिन्छ। दुलहालाई काँधमा बसालेर अग्लो ठाउँमा उभिएकी आमाले स्तन चुसाउने गर्छन्।

दुलहा छोरालाई स्तन चुसाउँदै गर्दा आमाले ‘दाम्पत्य जीवन सफल होओस्, सधैँ सुखी र खुसी रहनू’ भन्दै आर्शीवाद दिन्छिन्।स्तन चुसाउने बेला कपडाले दुलहाको अनुहार छोपिएको हुन्छ। स्तन चुसिसकेपछि काँधबाट नझरेरै दुलही लिन दुलहा जान्छन्।जन्ती र डोलीसहित दुलही ल्याउन दुलहा हिँडेपछि आमा, दिदीबहिनी, देउरानी, जेठानी र छिमेकी महिलाले कोसेली बाँडेर खाने र रत्यौली खेल्ने चलन रहेको छ।

छोरीलाई भने स्तन चुसाएर बिदा गर्ने चलन छैन। साथै यो एक पटक मात्र गरिन्छ। मागीविवाहको हकमा मात्र यो चलन रहेको छ। भगाएर विवाह गर्नेलाई आमाको स्तनपान गराउने चलन हुँदैन।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार