अर्थमन्त्री प्रकरण : एमालेसँग छलफल गर्ने माओवादीको निर्णय

अर्थमन्त्री शर्मा भन्छन् - म निर्दोष छु

काठमाडौं । नेकपा माओवादी केन्द्रले अर्थमन्त्रीको विषयमा उत्पन्न विवादका विषयमा प्रमुख प्रतिपक्षी दल एमालेसँग छलफल गर्ने निर्णय गरेको छ । आज बसेको पूर्वस्थायी कमिटीको बैठकले एमालेसँग छलफल गर्ने निर्णय गरेको हो ।

माओवादी केन्द्रीय सदस्य हरिबोल गजुरेलका अनुसार दाहालले एमालेसँग परामर्श गरेर अगाडि बढ्ने बताएका छन् । दाहालको भनाइ उल्लेख गर्दै गजुरेलले भने, ‘प्रमुख प्रतिपक्षी एमालेसँग कुरा गरेर अगाडि बढ्ने कुरा हुन्छ ।’

बैठकमा पार्टी अध्यक्ष प्रचण्डले अर्थमन्त्रीमाथि उठेको प्रश्न गम्भीर बन्दै गएको बताएका थिए । सरकार र पार्टीका शीर्ष नेताहरूलाई पनि जोडेर सञ्चारमाध्यमहरुले अतिरञ्जित समाचारहरुसमेत दिन थालेको भन्दै चाँडै निष्कर्षमा पुग्नुपर्ने उनको राय थियो ।

बैठकमा सहभागी अर्थमन्त्री जनार्दन शर्माले यस प्रकरणमा आफू निर्दोष रहेको बताएका थिए । अर्थमन्त्रालयमा भएको सीसीटीभीको प्रणालीमै १३ दिनभन्दा बढी स्टोरेज नरहने उनले जिकिर गरे । बैठकमा डिलिट भएको फुटेज रिकभर गर्न सकिने सम्भावनाबारे पनि छलफल भएको गजुरेलले जानकारी दिए । अर्थमन्त्री शर्मामाथि बजेट घोषणाको अघिल्लो रात अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार