एक वर्षदेखि टिपताला नाका बन्द, ओलाङचुङगोला वासीलाई खरीदभन्दा ढुवानीमा खर्च बढी

Sunrise Bank Middle Size

एक वर्षअघि सम्म चीनसँगको सीमावर्ती ताप्लेजुङ जिल्लाको ओलाङचुङगोलाका बासिन्दाले दैनिक उपभोग्य सामग्री तिब्बतबाट खरीद गर्थे । ओलाङचुङगोलामा उत्पादित गलैँचा, घीउ, छुर्पीलगायत सामग्रीको बजार पनि तिब्बत नै भएकाले उतैबाट यहाँका बासिन्दाले खाद्यान्नसहितका सामान ल्याउने गरेका हुन् ।

अर्कातर्फ ढुवानीका हिसाबले समेत सहज र सस्तो पर्ने हुँदा तिब्बतको रिउ बजारबाट नै खाद्यवस्तुलगायत घरायसी सामान खरीद हुने गरेको थियो । यसरी तिब्बतका बजारबाट आउने मालसामान टिपताला भञ्ज्याङसम्म मालवाहक र त्यसपछि याक–चौँरीलाई बोकाएर बस्तीसम्म ल्याउने गरिन्थ्यो ।

तिब्बतका व्यापारीले टिपतालासम्म सडक मार्गबाट पठाएको सामान त्यहाँबाट ओलाङचुङगोलासम्म याक, चौँरीलाई बोकाएर ढुवानी गर्दा प्रतिकिलो रु २५ देखि ३० सम्म पर्न जान्थ्यो । यसरी तिब्बतका बजारसँग दोहोरो कारोबार हुँदा भौगोलिक हिसाबले नेपाली बजारभन्दा टाढा रहेका ओलाङचुङवासीलाई सहज थियो । पछिल्लो एक वर्षदेखि कोरोना सङ्क्रमणका कारण पूर्णरुपमा टिपताला नाका बन्द हुँदा यहाँका बासिन्दालाई सास्ती भएको छ । कोरोना सङ्क्रमण फैलिने भन्दै एक वर्षअघिदेखि नै चीनले पूर्णरुपमा उक्त नाका बन्द गरेपछि तिब्बततर्फ आयात निर्यात पूरै ठप्प छ ।

नाका बन्द गरिँदा सङ्क्रमणको जोखिम न्यूनीकरण भए पनि आयातनिर्यात ठप्प हुँदा त्यहाँका बासिन्दालाई सास्ती भएको हो । यहाँ उत्पादित गलैँचालगायत सामान चीनतर्फ निर्यात नहुँदा अहिले घरैमा थन्किएका छन् । गलैँचा मात्रै नभई घीउ, छुर्पी, जडीबुटीसमेत निर्यात नभएकाले यस क्षेत्रका बासिन्दाको आम्दानी घटेको छ । विशेषगरी यहाँ उत्पादित गलैँचा र जडीबुटीको मुख्य बजार भनेकै तिब्बत हो ।

अर्कातर्फ दैनिक उपभोग्य सामान सदरमुकामबाट लैजानु पर्दा खरीद मूल्यभन्दा बढी ढुवानी खर्च लाग्छ । सदरमुकाम फुङलिङमा खरीद गरिएको सामान मालवाहक तथा सवारी साधनमा लेलेपसम्म र त्यहाँदेखि माथि भरिया वा खच्चडलाई बोकाएर ढुवानी गर्नुपर्छ । यसरी ढुवानी गर्दा प्रतिकिलो रु ६० देखि ८० सम्म पर्ने गरेको त्यहाँका वडाध्यक्ष छेतेन शेर्पाले बताए ।

खच्चडलाई बोकाए केही सस्तो र मान्छेलाई बोकाए महँगो पर्ने गरेको छ । “नुन, तेल, चिनीलगायत कतिपय सामानको खरीद मूल्यभन्दा बढी ढुवानी मूल्य पर्छ, विगत एक वर्षदेखि यहाँका बासिन्दालाई ठूलो खर्चमा खाद्यान्नसहितका सामग्री ल्याउनुपर्ने बाध्यता छ”, उनले भने । अझ बर्खाको समयमा भने ओहोरदोहोर गर्न कठिन छ । बर्खे झरीले कतै पहिरो चल्ने त कतै खोलाखोल्सा बढेर ओहोरदोहोरमा कठिनाइ हुने गरेको हो । त्यसैले मध्य बर्खाअघि नै चाहिने सामान ढुवानी गरिसक्नुपर्ने स्थानीयवासीले बताएका छन् ।

लेलेपबाट ओलाङचुङगोला पुग्न कम्तीमा एक दिन वा त्योभन्दा बढी समय पनि लाग्ने गर्छ । अर्कातर्फ ओलाङगोलामा उत्पादन भएका सामान नेपाली बजारमा पु¥याउनसमेत ढुवानी खर्च बढी लाग्ने हुँदा कठिन छ । प्रायः यहाँका उत्पादनले तिब्बतको बजार पाउँछन् ।

ओलाङचुङगोलामा ५३ परिवारको बसोबास छ । उनीहरुको मुख्य आम्दानीको स्रोत भनेकै गलैँचा हो । त्यसपछि जडीबुटी, घीउ, छुर्पी पर्छन् । चीनतर्फ निर्यात नभएकाले आम्दानी नहुँदा थप समस्या भएको स्थानीयवासीको भनाइ छ । कहिलेकाहीँँ वडाबाट हुने कतिपय भौतिक पूर्वाधार निर्माणका कामले सामान्य सहयोग पुग्ने गरेको तर अन्य आम्दानीका गतिविधि पनि सङ्क्रमणकै कारण ठप्प भएको स्थानीयवासीले बताएका छन् ।

Prabhu Bank Middle Size
Kumari Bank Middle Size
Loading...