भारतमाथि इङल्याण्डको फराकिलो जित

इङलिस भूमिमा १५ वर्षदेखि टेस्ट सिरिजमा जित निकाल्ने भारतको सपना इङल्याण्डले चकानाचुर पारिदिएको छ। इङल्याण्डको बर्मिङघममा भएको अन्तिम टेस्टमा भारतमाथि इङल्याण्डले मंगलबार ७ विकेटको प्रभावशाली जित निकाल्दै सिरिज २–२ को बराबरी गरेको हो।

गत वर्ष पाँच खेलको टेस्ट सिरिजको अन्तिम खेलअघि कोरोना महामारी बढेसँगै अन्तिम टेस्ट स्थगित गरिएको थियो। जतिवेला भारत २–१ ले अघि रहेको थियो। अन्तिम टेस्टमा बराबरीले पनि सिरिज जित्ने भारतको सपना इङल्याण्डले पूरा हुन दिएन।

भारतले दिएको ३७८ रनको लक्ष्य पछ्याउने क्रममा उत्कृष्ट फर्ममा रहेका स्टार खेलाडी जो रुट र जोनी बेयरस्टोले सानदार प्रदर्शन गर्दै ३ विकेट गुमाएर इङल्याण्डले लक्ष्य पूरा गरेको थियो। रुटले १४२ तथा बेयरस्टोले ११४ रनको अविजित सानदार शतकीय इनिङ खेल्दै चौथो विकेटका लागि २६९ रनको अविजित साझेदारी गरेपछि इङलिस टोलीले पाँचौँ दिनको पहिलो सेसनमै जित निकाल्यो। बेयरस्टो लगातार दुई इनिङमा नै शतक प्रहार गर्ने इङल्याण्डका चौथो खेलाडी हुन्।

पहिलोपटक भारतले दोस्रो इनिङमा विपक्षीविरुद्ध ३५० भन्दा बढी रनको लक्ष्य दिएको थियो जुन उसले रोक्न सकेन।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार