प्रतिबन्ध फुकुवा भएसँगै साफमा सहभागी हुन पाकिस्तानको पहल

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रतिबन्ध फुकुवा गरेसँगै पाकिस्तानले महिला साफ च्याम्पियनसिपमा सहभागिताका लागि छलफल सुरु गरेको छ ।

पाकिस्तान फुटबल फेडेरेसनले मंगलबार सामाजिक सञ्जालमार्फत नेपालमा हुने प्रतियोगितामा सहभागिताका लागि साफका महासचिव उग्येन वाङचुकसँग वार्ता गरेको जनाएको छ ।प्रतिबन्ध फुकुवा भएसँगै साफका केही इभेन्टहरूमा पाकिस्तानले सहभागिताका लागि टिम पठाउने तयारी गरिरहेको पाकिस्तान फुटबलले जनाएको छ ।

महिला साफ च्याम्पियनसिपको छैटौं संस्करण १३ देखि २५ भदौसम्म नेपालमा हुने तय भएको छ । यसअघि सन् २०२१ को अप्रिलमा पीएफएफमा तेस्रो पक्षको अनावश्यक हस्तक्षेप भएको भन्दै फिफाले प्रतिबन्ध लगाएको थियो ।

प्रतिबन्धपछि मलिक हारोनको नेतृत्वमा एक सामान्यीकरण कमिटी गठन भएको थियो । जसले पिएफएफलाई पूर्णरूपमा आफ्नो मातहतमा ल्याएपछि फिफाले प्रतिबन्ध पछिल्लो हप्तामात्र प्रतिबन्ध फुकुवा गरेको थियो । यद्यपि, उक्त कमिटीलाई स्वतन्त्र रूपमा काम गर्न नदिएमा फेरि प्रतिबन्ध लगाउने चेतावनीसमेत दिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार