ग्लोबल आईएमई ब्यालेन्स फण्डका लगानीकर्ताले राम्रो प्रतिफल पाउनेमा हामी ढुक्क छौं : ढकाल (अन्तर्वार्ता)

सेयरमा लगानी गरेर कमाउन चाहने तर पर्याप्त ज्ञान नभएकालाई म्युचुअल फण्ड नै उत्तम हो

सेयर बजार लगातार ओरालो लागिरहेको अवस्थामा ग्लोबल आइएमई क्यापिटलले म्युचुअल फन्ड ल्याउँदै छ । अवधि १० वर्ष रहेको यो म्युचुअल फन्ड बन्दमुखी योजना हो । इकाई बिक्री असार २२ बाट छिटोमा २६ गते र ढिलोमा साउन ४ गतेसम्म खुला रहने छ  । यसै सन्दर्भमा ग्लोबल आईएमईको म्युचुअल फन्ड, अहिलेको सेयर बजारको अवस्था लगायतको विषयमा ग्लोबल आईएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालसँग टिभी अन्नपूर्णकर्मी शर्मिला सुवेदीले गरेको कुराकानीको सम्पादित अंश  :
सेयर बजार निरन्तर ओरालो लागेको समयमा यहाँहरूले म्युचल फण्ड निष्कासन गर्दै हुनुहुन्छ, किन यस्तो बेला छान्नुभयो ? 
म्युचल फण्ड भनेकै छरिएर रहेको पुँजीलाई एकीकृत गर्ने भन्ने हो ।  एउटा क्यापिटल फर्म गर्ने र त्यहाँबाट लगानी गर्ने भन्ने हो ।  अहिलेको बजारको घटाइको समस्या भनेको लगानीकर्ताहरूले नीतिगत कुराहरूका कारण विश्वास गुमाएका छन्  भने बजारमा ओभर सप्लाई देखिएको छ । बजारमा देखिएको ओभर सप्लाई बजारमा लगानीकर्ताहरूले धान्न नसकेका कारण बजारमा गिरावट देखिएको हो  ।  यही घट्ने क्रममा म्युचल फण्ड भनेको सप्लाइलाई व्यवस्थापन गर्नेगरि ल्याइएको टुल पनि हो । सेयर बजार भनेको जोखिमको बजार हो  ।  यसमा हामीले जोखिम खरिद बिक्री गर्ने हो ।  जोखिम खरिद बिक्री गर्न विशेषज्ञ ज्ञान चाहिन्छ । बजारमा सप्लाइलाई व्यवस्थापन गर्न  र  लगानी गर्न चाहने तर सही ज्ञान नभएकालाई लगानी गर्नका लागि  म्युचल फण्ड महत्त्वपूर्ण मानिन्छ ।  त्यसैले पनि हामीले यस्तो बेला म्युचल फण्ड निष्कासन गर्न लागेका हौँ ।
ग्लोबल आईएमई ‘ ब्यालेन्स फण्ड’  कस्तो योजना हो ?
म्युचल फण्ड धेरै प्रकारका हुन्छन् । ग्लोबल आईएमई ब्यालेन्स्ड फण्ड अहिलेको बजारलाई हेरेर ल्याइएको हो । अवधि १० वर्ष रहेको यो म्युचुअल फन्ड बन्दमुखी योजना हो । यसमा इक्विटी लगानी र फिक्सड इन्कममा लगानी गर्ने हो  ।  यसअघिका योजनामा हाम्रो मुख्य प्राथमिकता  इक्विटीमा थियो भने यो पटक भने ब्यालेन्स्ड फण्डमा हामीले  फिक्सड इन्कम इन्सटुमेन्ट, कल डिपोजिट लगायतका विषय जोडिएका छन् ।  हामीले डिभेन्चर र इक्विटीलगायतमा लगानी गर्छौ  ।
यो म्युचल फण्डमा सर्वसाधारणले किन लगानी गर्ने ?
सेयर बजार भनेको आफैँमा जोखिमको व्यापार हो  । अहिलेको अवस्था हेर्ने हो भने म्युचल फण्डको घटाई बजारकै घटाइको फ्लोमामा छैन ।  बजार ४० प्रतिशत घटेको छ भने यसमा ३० प्रतिशत मात्रै होला  । यसमा रिसर्चका कुरा पनि छन्  ।   हामीले एउटा योजना, थिम नै बनाएर काम गरिरहेका छौँ ।  म्युचल फण्डमा व्यावसायिक विशेषज्ञता पाइन्छ ।  सेयरमा लगानी गरेर कमाउन चाहने तर बजारबारे पर्याप्त ज्ञान नभएकालाई म्युचल फण्ड नै सही ठाउँ हो ।  म्युचल फण्ड कुन बेलामा आयो भन्ने कुराले पनि फरक पार्छ  । हामीले तल र माथि दुवै देखेका छौँ  ।  यो ६ बर्षको अवधिमा हामीले  गत वर्ष झण्डैझण्डै १ सय ६ प्रतिशतको रिटर्न बाँडेका थियौँ  । त्यसैले पनि हामीले ग्लोबल ब्यालेन्सड फण्ड ल्याएका हौँ । यो आजको लागि मात्रै होइन १० बर्षको समयलाई हेरेर ल्याएका हौँ । त्यसबाहेक हामीले लगानीकर्तालाई उचित प्रतिफल दिन सक्छौँ भन्नेमा हामी ढुक्क छौँ ।
यसमा कति र कसरी लगानी गर्न सकिन्छ ?
ग्लोबल आईएमई ब्यालेन्स फन्डमा लगानीकर्ताले न्यूनतम १ सय  इकाईदेखि अधिकतममा १ करोड २० लाख इकाईसम्म खरिद आवेदन पेस गर्न सक्नेछन् ।  त्यो भनेको  एक हजारदेखि १२ करोड रुपैयाँसम्मको खरिद गर्न सकिन्छ ।
यसमा इकाई धनीहरूले कस्तो प्रतिफल पाउने छन् ?
हामीले सबै बजार हेरेर जादाँँ सुरुमा २ देखि ३ वर्षसम्म ७ प्रतिशत लाभांश दिनसक्ने देखेका छौ । त्यसपछि १० प्रतिशत र सबैभन्दा धेरैमा १७ प्रतिशत लाभांश दिने लक्ष्य छ ।  त्यसरी गर्दा समग्रमा १०४ प्रतिशतको  रिटर्न होला हाम्रो ।  त्यसलाई पनि बढाउन सक्छौ भन्ने हाम्रो तयारी छ ।  यसअघिका फण्डमा पनि हामीले प्रक्षेपण गरेको भन्दा धेरै नै प्रतिफल दिएका छौँ र यो पटक पनि राम्रो प्रतिफल दिनेमा हामी विश्वस्त छौँ ।
तोकिएको समयमा पुरै बिक्छ भन्नेमा ढुक्क हुनुहुन्छ ?
सबै बिक्नलाई सबैको सहयोग चाहिन्छ । हामीले अघिल्लो वर्ष नै म्युचल फण्ड आउँछ भन्ने सोचेका थियौँ तर स्वीकृति प्रक्रियामा अलिकति ढिला भयो  ।  त्यो बेलामा बजारको पनि एउटा लय थियो । तर हामीले बजार हेरेर बसेका थियौँ र अहिले ल्यायौँ ।  यो समय भनेको लगानी गर्नका लागि सही समय हो ।  हाम्रो बजार भनेको वान वे मार्केट हो । यहाँ बजार  घट्दा कमाउने भन्ने हुँदैन, बढ्दा भने पक्कै कमाइन्छ ।  अहिले गरेको लगानी खेर जाँदैन ।
सामूहिक लगानी कोष नेपालमा सुरु भएको १० वर्ष भन्दा बढी भयो तर  बजारमा यसको नकारात्मक बुझाइ छ नि ? 
बुझाइ प्रत्येक मान्छेको फरक फरक हुन्छन् । तर बजारमा नकारात्मक कुराहरू सुनिन्छ । यसमा थोरै सहभागिता  र लगानीको कुराले गर्दा पनि होला । बजार घट्यो भने बचाउने जिम्मा म्युचल फण्डको हो । उनीहरुले लगानी नगरेरै समस्या आएको हो भन्ने पनि सुनिन्छन् ।  हामीले पनि जुन खालको बजारमा प्राइसिंग थियो त्यसमा हाम्रो पनि अलि अलि भूमिका हाम्रो हो कि भन्ने महसुस गरेका थियौँ । तर हामीलाई कसैले विश्वास गरेर पैसा दिनुभएको छ । त्यो पैसा हामीले लगानी गरेर कमाएर दिन्छौँ भनेर ल्याएको हो ।  बजारको सबै खालको अपेक्षा पुरा नहोला तर हामीले लगानी नगरेको होइन ।  त्यसबाहेक ५ प्रतिशत होल्ड गरेको भनेर यसलाई फरक रूपमा लिइन्छ । तर त्यो भनेको लगानीकर्ताको सम्पत्ति हो, हाम्रो होइन ।  त्यो अन्तिम फिर्ता पाउने भनेको ईकाइधनीले नै हो  । म्युचल फण्डले नै  बजार  बचाउने हो भन्नेलगायतका गलत बुझाइले गर्दा पनि नकारात्मकता फैलिएको हो ।
त्यसबाहेक तपाईँको क्यापिटल मार्केटमा धेरै अनुभव पनि छ, अहिले देखिएको समस्या के हो ? 
हामी पनि पुजीँबजारको स्टक होल्डर हो । किनभने साना लगानीकर्ताको फण्ड ल्याएर कमाएर दिने बाध्यता छ हामीसँग । हामीले पनि कुनै विषयमा अध्ययन गर्दा हेर्ने भनेको अन्तर्राष्ट्रिय बजार हो ।  स्टक मार्केट पनि हामीले बनाएको होइन । यो भनेको बाहिरबाट आएको एउटा टुल हो । त्यसैले पनि हामीले  अन्तर्राष्ट्रिय बजारमा रहेका अभ्यासहरूलाई पनि हेर्न पर्छ होला नि त । मार्केटलाई कसरी बनाउने, विकास गर्ने लगायतका कुराहरू अन्तर्राष्ट्रिय बजारमाबाट सिक्ने हो । त्यो हाम्रो पुजीँबजारमा पाइँदैन ।  नीतिका कुरा गर्दा पुजीँबजारमा मौद्रिक नीतिको इम्पयाक्ट छ । त्यसैले नीतिगत अस्थिरता पनि पुजीँबजारको समस्या हो ।  अन्तराष्ट्रियस्तरमै नदेखिएका कुराहरू नीतिगत रूपमा  बिना अध्ययन  पुजीँबजारमा आएका छन् । त्यसले पनि समस्या ल्याएको हो जस्तो मलाई लाग्छ । अब आउँदै गरेको मौद्रिक नीतिले स्टेबल नीति ल्याउँछ जस्तो मलाई लाग्छ ।  अहिले देखिएको अर्थतन्त्रमा देखिएको समस्यामा रिकोभर हुन पनि क्यापिटल मार्केटको भूमिका महत्त्वपूर्ण छ । त्यसै पनि नियामक निकायले यसमा गम्भीर भएर सोच्नुभएको होला ।
नेपाल राष्ट्र बैङ्कले लिएको ४ /१२ को नीतिले सेयर बजारमा समस्या देखिएको हो ?
४ १२ को नीतिबारे चाहिँ नियमनकारी निकायलाई नै अलिकति बढी थाहा होला । उहाँहरूले अध्ययन गर्नुभएको होला । तर मैले खोज्दै जाँदा अन्तराष्ट्रयस्तरमै यो खालको प्रावधान देखेको छैन ।  ४ / १२ को नीतिको कुरा आएपछि सप्लाई बढाएको हो  ।   डिमान्ड र सप्पालाईबिच अन्तर आएको हो  ।
ग्लोबल आईएमई क्यापिटलको भावी योजना के–के छन् ? 
हामीले क्यापिटल  मार्केटकै लागि काम गरिरहेका छौँ । भावी योजनाकै कुरा गर्नुहुन्छ भने बुक बिल्डिङ  ल्याउँदै छौँ ।  त्यसबाहेक मार्केटलाई मध्यनजर गरेर ओपन इन्डेड फण्ड र अर्को एउटा म्युचल फण्ड ल्याउने तयारी गरिरहेका छौँ  । त्यसबाहेक त बजारलाई मोनिटर गरिरहेका छौँ ।  साथै धितोपत्र सहकार्य गरेर नेपालको पुजीँबजारलाई कसरी अगाडी बढाउन सकिन्छ भनेर योजना बनाइरहेका छौँ र तयार पनि छौँ  ।
 ग्लोबल आईएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालसँग गरिएको भिडियो कुराकानी : 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार