भारतको मणिपुर पहिरोमा परेर ४२ को मृत्यु, २० बेपत्ता

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा ठूलो पहिरो गएको कैयौं दिनपछि पनि उद्धारकर्ताले बेपत्ता २० जनाको खोजी कार्य जारी राखेका छन्। रेल–वे निर्माण भइरहेको एक स्थानमा गत बुधबार राति गएको पहिरोमा परेर ४२ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा अधिकतर कामदार र भारतीय सेनाका स्वयंसेवक रहेका छन्। भारी वर्षा र पहिरो गइरहेकाले उद्धार कार्य कठिन भएको सरकारी अधिकारीले बताएका छन्। मनसुनका कारण भारतको उत्तरपूर्वका आसाम, मणिपुर, मेघालय र त्रिपुरा राज्यमा ठुलो बाढी आएको छ।

सबैभन्दा बढी प्रभावित आसाममा १ सय ५० जनाको मृत्यु भइसकेको छ भने लाखौं मानिस विस्थापित भएका छन्। लगातारको वर्षाका कारण गत साता मणिपुरको नोने जिल्लामा उक्त पहिरो गएको एक सरकारी अधिकारीले भारतीय समाचार एजेन्सी एएनआईलाई बताएका छन्। उक्त पहिरोबाट १८ जनालाई जीवितै उद्धार गरिएको थियो तर घटनास्थलमा रहेका सरकारी अधिकारीले बेपत्ताहरू अब जीवित रहन सक्ने सम्भावना कम रहेको बताएका छन्।

पहिरोले थुपारेको गेग्य्रान र चिसो माटोका कारण खोजीकार्य कठिन बनेको उनीहरूको भनाइ छ। उद्धारकर्ताले राडार प्रविधिको प्रयोग गरेर गेग्य्रानमा पुरिएकाको खोजी गरिरहेका छन्। मणिपुरको राजधानी इम्फाललाई जिरिबाम जिल्लासँग जोड्ने रेल–वे लाइन निर्माणस्थलमा उक्त पहिरो गएको थियो। आप्रवासी कामदारहरू उक्त रेल–वे निर्माणमा सहभागी रहेको स्थानीयले बताएका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार