बागलुङमा लागुऔषधसहित ४ जना पक्राउ

बागलुङमा ठूलो मात्रामा लागुऔषधसहित ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पाल्पाको मदनपोखरा गाउँपालिका वडा नम्बर ७ का ४५ वर्षीय कृष्णप्रसाद पुरी, गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ५ का ३८ वर्षीय सुरथबहादुर घिमिरे रहेका छन् । त्यस्तै रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ६ का ३३ वर्षीय लोकबहादुर थापा र दाङको लमही नगरपालिका वडा नम्बर ७ का २५ वर्षीय शोसन चौधरीलाई पक्राउ गरेको हो।

प्रहरीले ९०५ एम्पुल फेनारगन, डाइजेपाम ९२४ एम्पुल र नुर्फिन ९१७ गरि २ हजार ७४६ एम्पुल लागुऔषधसहित उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिए।

बुटवलदेखि बागलुङतर्फ आउँदै गरेको लु २ ख ५३१६ नम्बरको बसमा लागुऔषध ओसारपसार भएको सूचना पाएपछि प्रहरीले बागलुङ नगरपालिका वडा नम्बर ३ चिप्लेटी बसपार्कबाट उनीहरूलाई पक्राउ गरेको उनले बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार