अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ, नभए प्रधानमन्त्रीले हटाउनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै महामन्त्री थापाले अर्थमन्त्रीमाथि संसद भित्र र बाहिर प्रश्न उठेकाले राजीनामा दिनुपर्ने बताएका हुन् ।

‘अहिले अर्थ मन्त्रालयले सीसीटीभी फुटेज जम्मा १३ दिनको छ भनेर भनिसके पछाडि मलाई के लाग्छ भने तत्काल प्रधानमन्त्रीले यसका बारेमा एउटा एक्सनमा जानुपर्छ । यत्रो विषय संसदमा उठ्यो । बाहिर उठ्यो । हो, होइन मलाई थाहा छैन । तर यो विषय उठिसकेपछि मैले बुझेको कि अर्थमन्त्रीजीले अहिले राजीनामा दिनुपर्छ । कि प्रधानमन्त्रीजीले उहाँलाई अहिले हटाउनु पर्छ । र तत्काल छानबिन गर्नुपर्छ’ उनले भने ।

कम्तीमा तीन महिनासम्मको सीसीटीभी फुटेज सुरक्षित राख्नुपर्ने नियम रहेको तर अर्थ मन्त्रालयले त्यो नियम पनि नमानेको थापाले बताए । थापाले अर्थमन्त्रीमाथि लागेको आरोप त्यत्तिकै सेलाउन दिन नहुने बताए ।

‘अब यो उठ्यो, यत्तिकै गयो भनेर हुँदैन । यस्तो गर्‍यौँ भने अत्यन्त यसको एउटा नजिर बस्छ । र जे गरेपनि हुन्छ भन्ने कुरा रहन्छ’ उनले भने, ‘वा हुँदै नभएको कुराको आरोप पनि कसैले खेप्नुपर्ने हुन्छ । त्यसैले मलाई लागेको यो अर्थमन्त्रीजीको पनि हितमा छ । तत्काल उहाँले राजीनामा दिने । वा प्रधानमन्त्रीजीले उहाँलाई अहिले हटाएर यसको छानबिन गर्ने ।’

अर्थमन्त्री जनार्दन शर्मामाथि बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी गराएको र करको दर हेरफेर गराएको आरोप लागेको छ । नेकपा एमालेले संसदमा यो विषय उठाउँदै संसदीय छानबिन माग गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार