श्रीलङ्का सङ्कट : गाडीमा तेल हाल्न दुई दिनदेखि ट्याक्सीमा बास

श्रीलंकामा एक व्यक्ति गाडीमा तेल राख्नका लागि दुईदिन गाडीमा सुतिरहेको घटना यत्ति बेला सामाजिक सञ्जालमा भाइरल भएको छ । त्यसरी लाइनमा बस्ने व्यक्तिको नाम अजिवन सदाशिवम हो । उनलाई त्यहाँ कति समय पर्खिनुपर्ने हो थाहा छैन।

‘म दुई दिनदेखि लाइनमै छु’ राजधानी कोलम्बोस्थित एक पेट्रोल पम्पबाहिर व्यग्रताका साथ पालो पर्खिरहेका उनले भने। ट्याक्सीचालक भएकाले इन्धन उनका लागि जीविकोपार्जनसँग जोडिएको छ तर श्रीलङ्कामा पेट्रोलको आपूर्ति भइरहेको छैन।

सदाशिवमले हामीलाई ट्याक्सीको पेट्रोल मापन गर्ने यन्त्र देखाउँदा त्यसको सुई शून्यमा थियो।

‘म कारमै सुतिरहेको छु। बेलाबखतमा खानेकुरा लिन निस्कन्छु तर फर्केर कुर्ने काम गर्छु… धेरै दिनदेखि मैले नुहाएको पनि छैन।’

उनले आफूसँग पर्खनुको विकल्प नभएको बताए ‘मैले मेरो परिवार, श्रीमती र दुई सन्तानको रेखदेख गर्नुपर्छ।…तेल भए मात्र मैले कार चलाउन सक्छु र घर चल्छ।’

कम्तीमा दुई सातादेखि श्रीलङ्कमा इन्धनको आपूर्ति भएको छैन।केही बचेखुचेको तेल उक्त टापु राष्ट्रका अन्य भागबाट राजधानी ल्याइएको छ। सदाशिवम छिट्टै ट्याङ्कर आउनेमा आशावादी छन्। उनले प्रतीक्षा गरिरहेको रित्तो पेट्रोलपम्पलाई श्रीलङ्काली सेनाले पहरा दिइरहेको थियो।

उनले आफ्नो आशा दर्शाउँदै भने, ‘उनीहरूले आज राति एउटा गाडी आइपुग्ने भनेका छन्। हप्ता नै लागेछ भने पनि मैले पर्खनुपर्छ। म अर्को लाइनमा जान सक्दिनँ।’

समुद्र छेउमा उनी जस्तै पेट्रोल पर्खिनेको लाइन झन्डै दुई किलोमिटर लामो छ।अचम्मलाग्दो दृश्य चाहिँ त्यस्ता चार वटा समानान्तर लाइन छन्। एउटा कारका लागि, अर्को बस र ट्रकका लागि र अर्को दुई वटा मोटरसाइकल र टुकटुकका लागि।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार