निर्देशक चेतन कार्कीको निधन

नेपाली चलचित्रका सफल निर्देशक, लेखक, गीतकार तथा साहित्यकार चेतन कार्कीको निधन भएको छ । गत आइतबार कोरोना संक्रमित भएपछि उनलाई छाउनीस्थित अस्पतालमा भर्ना गरिएको थियो । उनको ८३ वर्षको उमेरमा आज बिहान १० बजे उपचारका क्रममा निधन भएको हो ।

उनका तिजको रहर आयो बरिलै, दाइलाई बोलाउँ भने लेक स्वर पुग्दैन, बुझ्नै सकिनौँ तिमिले मेरो आँखाको भाका, माया पिरतीको चोखो कथा, यी ओठ तिम्रा (राष्ट्रिय चलचित्र पुरस्कार पाएको, २०४३ सालमा), छोरीको जन्म हारेको कर्म, अंग अंगमा तरंग बोकी, बैनीको दया छ भने सहितका दर्जनौँ लोक, आधुनिक तथा चलचित्रका गीतहरु लोकप्रिय छन् ।

उनका गीतहरु नारायण गोपाल, तारा देवी, अरुणा लामा, प्रकाश श्रेष्ठ, किरण प्रधानसहितले गाएका छन् । कार्कीले ‘विश्वास, पहिलो प्रेम, मनको आँखा, भूमरी’ लगायतका चलचित्र निर्देशन गरेका थिए । साथै, उनले सय भन्दाबढी चलचित्रका कथा समेत लेखेका छन् । उनले चलचित्र ‘परिवर्तन’देखि चलचित्र लेखनको काम सुरु गरेका थिए ।

आत्मा बेचेको छैन, ढलेको गिलासँ, हनिमुन–उपन्यास, बसिबियाँलो–कथासंग्रह, माया पिरतीको कथा, जुन निदाउन थाल्यो–गीत संग्रह, कल्पना टुट चुकी है (हिन्दी कविता), दिल गिजर के टुकडे (हिन्दी उर्दू कविता) सहित प्रकाशित छन् ।

उनको निर्देशनमा बनेका चलचित्रहरु विश्वास, भूमरी, पहिलो प्रेम हुन् । उनले विसं २०२५ सालमा परिवर्तन चलचित्रको पटकथा संवाद लेखनबाट नेपाली चलचित्रमा प्रवेश गरेका थिए । उनका दुई छोरा पारस र पंकज कार्की तथा श्रीतमी गंगा कार्की छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार