आयातमा थप कडाई गर्ने सरकारको तयारी, आवश्यकता हेरेर प्रतिबन्ध लगाइने

सरकारले आयातमा थप कडाई गर्ने तयारी गरेको छ । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले राष्ट्रिय हित अनुसार आयात प्रतिबन्ध गर्ने निर्णय गरेको छ । असार मसान्तपछि बिभिन्न बस्तु तथा सेवामा आयात प्रतिबन्ध लगाउने गरि आन्तरिक तयारी भईरहेको छ ।

यसअघि सरकारले विभिन्न १० प्रकारका विलासी वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । नेपाल सरकारले निकासी तथा पैठारी ऐन २०१३ को दफा ३ ले दिएको अधिकार प्रयोग गर्दै मदिरा, सुर्ती, डिजेल तथा पेट्रोल गाडी, २५० सिसीभन्दा बढीका मोटरसाइकल, कुरकरे तथा लेजलगायतका खाद्यान्न, हीरा, ६ सय डलरभन्दा महँगा मोबाइल सेटलगायतको आयातमा प्रतिबन्ध लगाएको हो ।

त्यस्तै, सबै प्रकारका खेलौनाहरू, खेल्ने तास, ३२ इन्चभन्दा ठूला रंगीन टेलिभिजनलगायतका सामग्री पनि सरकारको आयात प्रतिबन्धको सूचीमा परेका छन् । सरकारले लगाएको आयात प्रतिबन्ध चालू आर्थिक वर्षको असार मसान्तसम्म लागू हुने बताइएको थियो ।

तर नेपालको अर्थतन्त्रमा चुनौती बढ्दै गएको भन्दै असार मसान्तपछि थप बिभिन्न बस्तु तथा सेवामा आयात प्रतिबन्ध लगाउने गरि आन्तरिक तयारी भईरहेको मन्त्रालय स्रोतले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार बैशाख मसान्तसम्म ९ खर्ब २८ करोड डलर बराबरको विदेशी मुद्रा सञ्चिति कायम छ । उक्त सञ्चितिले ६.५ महिनाको लागि वस्तु तथा सेवा आयात गर्न पुग्छ ।

त्यस्तै नेपाल व्यापार घाटा उच्च छ भने सोधानन्तर स्थिति घाटामा रहेको छ । १० महिनाको तथ्याङ्क हेर्दा २८८ अर्बको सोधानन्तर घाटा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ भने यो घाटा नेपालको उच्च घाटा हो ।

चालु आर्थिक वर्षमा १० खर्ब बराबरको विप्रेषण भित्राने राष्ट्र बैंकको आंकलन भने अर्कोतर्फ आयात १९ खर्ब नाघ्ने अवस्थामा छ । आयात र आयातलाई फाइनान्स गर्ने स्रोतकोबिच अन्तर बढ्दै गएपछि सरकारले आयातमा थप कडाई गर्ने तयारी गरेको हो । उद्योग मन्त्रालयका अनुसार आवास्यकता हेरेर आयातमा प्रतिबन्ध लगाउने गरी तयारी भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार