काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रशारणसम्बन्धी आचारसंहिता एक हप्ता भित्रै अनुभूति हुनेगरी कार्यान्वयनमा लैजान विज्ञापन बोर्डलाई निर्देशन दिए ।
विज्ञापन बोर्डले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा सो आचारसंहिता सार्वजनिक गर्दै मन्त्री कार्कीले एक हप्ता भित्र अनुभूति हुनेगरी त्यसलाई कार्यान्वयनमा लैजान निर्देशन दिएका हुन ।
उनले विज्ञापन क्षेत्रलाई स्वस्थ र मर्यादित बनाउनका लागि जारी गरिएको आचारसंहिताको प्रभावकारी कार्यान्वयन नभएसम्म त्यसलाई ऐतिहासिक र महत्वपूर्ण भन्न नसकिने पनि स्पष्ट पारे ।
सरोकारवाला पक्षहरूसँग धेरै छलफलपछि जारी गरिएको आचारसंहिताले विज्ञापन क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धा, विकृति र विसंगतिको अन्त्य गर्दै समाजलाई पनि लाभान्वित बनाउने मन्त्री कार्कीले विश्वास व्यक्त गरे ।
मन्त्री कार्कीले आचारसंहिता कार्यान्वयनमा कुनै व्यवधान खडा भए आफ्नो मन्त्रालय त्यसलाई तत्काल हटाउन लागिपर्ने प्रतिवद्धता जनाए। मुलुकलाई चाँडै सभ्य र सुन्दर बनाउन स्वतन्त्रता र अनुशासनलाई सँगसँगै अघि बढाउनुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले विज्ञापन बजारमा देखिएका विसंगतिहरूलाई समाधान दिने गरी आचारसंहिता जारी गरिएको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा केन्द्रित हुन विज्ञापन बोर्डलाई आग्रह गरे । आचारसंहिता कार्यान्वयनमा जटिलता आए त्यसलाई सहज ढंगले सम्बोधन गर्न पनि उहाँले सुझाव दिए ।
विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले विज्ञापन क्षेत्रमा देखिएका सबै खालका विकृति, विसंगतिहरूको अन्त्य गर्दै विज्ञापन व्यवसायमा आवद्ध सबैलाई जिम्मेवार बनाउने उद्देश्यका साथ आचारसंहिता निर्माण गरी लागू गरिएको बताए ।