एकीकृत समाजवादीले बागमतीकाे मुख्यमन्त्री तत्काल न‍छाड्ने, गर्‍याे यस्ताे निर्णय

सत्तारुढ गठबन्धनमा आबद्ध नेकपा एकीकृत समाजवादी पार्टीले  बागमती प्रदेशको मुख्यमन्त्री तत्काल नछाड्ने भएको छ ।

शनिबार बसेको एकीकृत समाजवादीको बागमती प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकार गठबन्धनको सहमतिका आधारमा बनेकाले केन्द्रीय गठबन्धनको निर्णयविना मुख्यमन्त्री राजेन्द्र पाण्डेले राजीनामा नदिने निर्णय गरेको हो ।

बैठकपछि संसदीय दलका उपनेता कृष्ण खनालले भने- ‘तलको हल्लाले केही तुक राख्दैन । केन्द्रीय गठबन्धनले जे फैसला गर्छ त्यही हुन्छ । केन्द्रीय गठबन्धनले मिलाएर जाउँ भनेमा मुख्यन्त्रीले राजीनामा दिनुहुन्छ नत्र राजीनामा सम्भव छैन ।’

साथै उनले थपे- ‘यो बागमती मात्र नभएर सातै प्रदेशको कुरा हो । हामीले यहाँ छोडदा कहाँ पाउने त्यो पनि एउटा विषय हुन आउँछ ।’

पाण्डे मुख्यमन्त्री बन्नुअघि गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच नयाँ आर्थिक वर्ष २०७९/८० को बजेटपछि सरकारको नेतृत्व कांग्रेसलाई दिने सहमति भएको पत्र सार्वजनिक भएको थियो। हालै प्रदेशसभाबाट बजेट पनि पास भैसक्याे । तर, एकीकृत समाजवादीले आलोपालो मुख्यमन्त्री चलाउने सहमति कार्यान्वयन गर्न अटेर गरेको भन्दै कांग्रेस र माओवादीले दबाब दिन आफ्ना प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसमेत संकलन गरिसकेकाे जनाइएकाे छ ।

मुलुकका ७ प्रदेशमध्ये हाल कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका २–२ जना र जनता समाजवादी पार्टीका एक जना मुख्यमन्त्री छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार