‘…जसको सरकार आएपनि गरिबको सरकार आएन’

पीडित भन्छन्- सरकार त हुनेखानेकाे मात्र रहेछ !

काठमाण्डौको बालुवाटारबाट ठेलामा मकै बेचेर गुजारा चलाउने एक दम्पतीलाई शुक्रबार महनगर प्रहरीले लछारपछार पारेको भिडियो यतिबेला सामाजिक सञ्जाल भाईरल बनेको छ । दैनिक ठेलामा मकै बेचेर आफु र दुईवटा सन्तानको लालनपालन गरिरहेका उनिहरुमाथि नगरप्रहरीले गरेको ज्यादतीको धेरैले आलोचना गरेका छन ।

यस्ता व्यक्ति र घटनालाई महानगरले सामान्य रुपमा लिने गरेको पाइन्छ । तर यस्ता व्यक्तिहरु भित्र जिवन संघर्षको पिडादायक कथा लुकेको हुन्छ । त्यस्तै कथा लुकेको छ, शुक्रबार नगर प्रहरीले लछारपछार गरेका सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा न १० का चेतेन्द्र आर्चाय र सिता आचार्यको दम्पतीमा ।

उनीहरुले सडक किनारमा मकै पोल्न र मौसमअनुसारका फलफूल बेच्न थालेको १४ वर्ष भइसक्यो । उनीहरु नगर प्रहरीलाई आफ्नो शत्रु ठान्छन् किनभने आफूले खाइनखाई जोडेका पाँचवटा गाडा तिनले उठाइसके । आफूसँग भएको अर्को गाडा भने उनीहरूले लुकाएका थिए ।

उनीहरु आज भन्दा करिब १८ बर्ष पहिले काठमाडौं भित्रिएका थिए । काठमाडौं भित्रीएलगत्तै उनीहरुले गाउँको जग्गा धितो राखी बैकबाट ४५ लाख भन्दा धेरै ऋण लिइ तरकारी तथा फलफुल व्यपारको शुरुवात गरे । व्यापार चलेन । बैकको किस्ता तिर्न समेत नसक्ने अवस्था आयो । उक्त पसल बेचे । बोडिङ स्कुलमा पढाउँदै गरेका छोरा छोरी सरकारी विद्यालयमा भर्ना गरे । जिविको पार्जनका लागि ठेला किनी मकै पोलेर बेच्न सुरु गरे । यसैबाट उनीहरुको जिविका चल्दै थियो । बिहान बेलुका हातमुख जोड्नका लागि दुवैजना दिनभरी ठेलामा मकै पोलेर बेच्दै आइरहेका थिए । शुत्रबार पनि उनीहरु सदाझै मकै पोलेर बेच्नका लागि सडकमा निस्कीएका थिए ।तर पोलेका मकै बेच्न पाएनन् । एकाएक नगर प्रहरी आयो र ठेलासँगै मकै पनि उठायोे । जसले गर्दा उक्त परिवार यतिबेला ठूलो समस्यामा परेको छ । साझा बिहान हातमुख जोड्नका लागि अब के गर्ने, सन्तानलाई कसरी पढाउने ?, बैंकमा ऋण कसरी तिर्ने ? भन्ने प्रश्न उक्त दम्पतीकासामू अहिले पहाड जसरी खडा भएको छ । हामीसँगको कुराकानीमा उक्त दम्पतीले भक्कानिँदै आफ्नो पिडा सुनाए ।

‘लछारपछार गर्दा बूढीलाई पनि चोट लाग्या । कति मकै सडकमा छरियो । गरिखाने गाडी र मकै नै लगे । अब के गर्ने सोच्नै सकेका छैनौं । दिनभरि रोयौं । सरकारले गरिबलाई गरिखान पनि नदिने भयो । सडकछेउमा मकै पोलेर बेच्न पनि नपाउने भएपछि अब के चोर्न जानु ? गरिखान पनि नदिने भएपछि अर्को उपाय त हामीसँग छैन ।’ सिताले भक्कानिँदै भनिन् ।

चेतेन्द्र आर्चायले थपे ‘भूकम्पले गाउँको घर भत्किएपछि बनाउँदा ४० लाख ऋण छ । ऋण तिर्ने र छोराछोरी पढाउने आधार नै यही मकै बेचेर कमाउने थियो । त्यो पनि नगर पुलिसले खोसिदियो । आज मात्रै गाडा, मकै, ओदान, दाउरा गरी ३० हजारको सामान गुम्यो । नगर प्रहरीले यसरी गाडी लगेको पाँचौं पटक हो । महानगरले अहिलेसम्म मेरो गाडा र सामान गरी २ लाखको लगिसक्यो ।’

यस विषयमा नगर प्रहरी प्रमुख धनपति सापकोटासँग कुराकानी गर्दा उनले आचार्य दम्पतीले सडक नै ढाक्ने गरी मकैको व्यापार गरेको कारण गाडी र सामान उठाएको बताए । सडकमा व्यापार नगर्न आग्रह गर्दा अपशब्द बोल्ने र प्रहरीलाई अगुल्टोले समेत हान्ने गरेकाले यस्तो गर्नु परेको उनको भनाइ छ ।

त्यसो त काठमाण्डौमा सडक छेऊमा हुने ठेला व्यवापारीका कारण ट्राफिक व्यवस्थापनमा समस्या आउने भएकाले यसलाई स्वभाविक रुपमा पनि लिन सकिन्छ । तर काठमाण्डौका सडकको अनुगमन गर्ने हो भने, ठुला व्यपारी र सपिंग मलका सञ्चालकले त्यो भन्दा धेरै सडक अतिक्रमण गरेका छन् । सार्वजनिक जग्गालाई पार्किग बनाएर दैनिक लाखौ असुल्ने गरेका ठाउँमा नगर प्रहरी नदेखेजस्तो गर्ने गरेको यहाँका स्थानीयहरुको गुनासो छ । तर नगरप्रहरीले गरिबी निमुखाले सडक छेऊमा उभिएर गुजारा चलाउने कामलाई तारो बनाएर लुट्ने, खेद्ने तर्साउनेदेखि लछारपछार पादैं कुटपिटसम्म गर्ने गरेको घटना यसभन्दा पहिले पनि सार्वजनिक हुने गरेका छन् ।

यस्ता घटनाले गरिबका चुल्होमा जाउलो बसाल्ने उपाय समेत खोसिने गरेको छ । चुनावमा गरिबको पक्षमा नारा बनाउने र जितेपछि उनकै छातीमा बुट बजार्ने परम्परा नेपालमा पुरानै हो । सडक किनारामा व्यवसाय सञ्चालन गर्नेको उचित व्यवस्थापन गर्नु आवश्यक रहेको विज्ञहरु बताउँछन् ।

सम्बन्धित समाचार