सामाजिक सुरक्षा भत्तालाई बैंकिङ प्रणालीमार्फत नै वितरण गर्नुपर्छ : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले सामाजिक सुरक्षा भत्तालाई बैंकिङ प्रणालीमार्फत नै वितरण गर्नुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफल’मा बोल्दै उनले सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीमार्फत नै वितरण गर्नुपर्ने बताए ।

उनले बैंकिङ प्रणालीमार्फत नगर्दा भत्ता दिएबापत राज्यले नभई व्यक्तिले जस लिनेगरी दुरुपयोग हुने गरेको बताए । बैठकमा बोल्दै नेकपा (एमाले) की सांसद विमला बिकले कुमारी आमालाई पनि एकल महिलाको रुपमा लिइ सामाजिक सुरक्षा भत्ता दिनुपर्ने बताए । उनले कुमारी आमाहरु सामान्य महिलाको जस्तो जीवनमा फर्किन कठिन हुने भन्दै उनीहरुलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्नुपर्नेमा जोड दिए ।

नेकपा (एमाले)का सांसद नवराज सिलवालले लोकप्रियताका लागि बढी सामाजिक सुरक्षा भत्ता बाँड्दा राष्ट्रले धान्न नसक्ने अवस्था आउने हो कि भन्नेतर्फ सचेत गराए । उनले श्रम गर्नसक्ने एकल महिलाहरुलाई भत्ता दिनुभन्दा आयआर्जनका काममा लाग्न राज्यले प्रेरित गर्नुपर्ने बताए।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राज्यले धेरै धन, सम्पती हुने मान्छेहरुको नाम सार्वजनिक गर्नुपर्ने बताए । धनि मान्छेहरुको नाम प्रतिष्ठित व्यक्तिको नाममा सूची बनाएर सार्वजनिक गर्नुपर्ने उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार