एक महिनामा १ अर्ब ७२ करोडको विद्युत भारत निर्यात

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज ९आइएक्स० मार्केटमा प्रतिश्पर्धी दरमा बिजुली बेचेर १ अर्ब ७२ करोड रुपैयाँ बढी आम्दानी गरेको छ।

विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङका अनुसार १७ करोड ८१ लाख ९१ हजार युनिट विद्युत भारतीय बजारमा बिक्री गरेर खुद नाफा १ अर्ब ७२ करोड ३० लाख रुपैयाँ कमाइएको हो । प्रतिस्पर्धी बजारमा बिक्री गरिएको विद्युतको औसत प्रति युनिट दर ९ रुपैयाँ ६७ पैसा छ ।

प्राधिकरणले जेठ १९ बाट भारतीय बजारमा विद्युत निर्यात सुरु गरेको थियो। ६ वटा जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई स्रोत मानी ३६४ मेगावाट विद्युत आईईएक्स मार्केटमा बिक्री गर्न प्राधिकरणले स्वीकृति पाएको छ । आईईएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा स्लटमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ ।

प्राधिकरणले यस एक महिनाको अवधिमा विद्युत बिक्रीको औसत दर सबैभन्दा बढी असार १ मा प्रतियुनिट औसत दर १५ रुपैयाँ ९३ पैसा पाएको थियो भने सबैभन्दा कम औसत दर असार ७ मा प्रतियुनिट ४ रुपैयाँ ९२ पैसा तोकिएको थियो । त्यसैले हरेक समयको मूल्य फरक–फरक हुने गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार