छिमेकीका घर पनि बिरानो लाग्दैछ

वल्लो पल्लो घर पालो पैंचो गर्ने, पसलमा गएर सरसामान किन्ने र घाँस दाउरा, मेलापात गदै आएका मेरिङदेन गाउँपालिका—४ का ५४ वर्षीय जनार्दन प्रसाई घर बाहिर ननिस्किएको दुई साता भयो । उनी मात्र होइन प्राय ताप्लेजुङको सबै गाउँमा मानिसहरु घरभित्रै बस्न थालेको छन् । मेरिङदेन गाउँपालिका—६ की विमना लिम्बु दुई हप्तादेखि छिमेकीको घरमा गएकी छैनन् । छिमेकीसँग भेटघाट पनि गरेको छैन ।

फुङ्लिङ नगरपालिका—७ बिहिवारे निवासी जितेन चेम्बजोङले भने “टोलबाट बाहिर गएर फेरी फर्केर आउन पाइँदैन । टोलको नियम कडा छ ।” आफ्नो गाउँमा कोभिड—१९ संक्रमण फैलिन नदिनका लागि कडा नियम बनाएको चेम्जोङले बताए ।

घरमा कोही छन् भन्ने भेउ बिहान धुरीबाट निस्केको धूवाँले पाइन्छ । नत्र गाउँमा सन्नाटा छाएको छ । उराठलाग्दो देखिएको छ । बारीमा मकै हरियो देखिन्छ । बारिका गन्लाहरुमा घाँसको बालुवा पलाउन थालेको छ । गाउँ सुनसान भए पछि चराचुरुङ्गीहरु घर नजिक—नजिक आउन थालेको छ । चराहरुको आवाजले एक प्रकारको संगीतमय बन्दै गएको छ ।

पहिलो चरणको कोभिड—१९ को संक्रमण फैलिन्दा सहर भन्दा गाउँ धेरै सुरक्षित मनिएको थियो । तर दोस्रो चरणको कोभिड—१९को लहरमा गाउँ पनि असुरक्षित भएको मेरिङदेन गाउँपालिका—२ का स्थानीय मेघराज लिम्बुले बताए । उनले भने “गाउँमा महामारी फैलियो भने बजारको जस्तो अस्पतालको सुविधा छैन । त्यसैले समयमै सुरक्षित रहनु पर्दछ ।”

ताप्लेजुङमा ९ स्थानीय तहमध्ये ७ स्थानीय तहमा कोभिड—१९ संक्रमण फैलिएको छ । गाउँ—गाउँमा कोभिड संक्रमितहरु छन् । गाउँमा बिरामी भए अस्पताल, यातायात, बाटोको सहज नभएको पाथीभराङवरका गाउँपालिका—६ की चित्रा कुमार लिम्बुले बताए । उनले भने “बरु केही समय घर भित्र बस्नुको विकल्प छैन् ।” प्रत्येक स्थानीय तहरुले एक गाउँदेखि अर्को गाउँ आउजाउ नगर्न सार्वजनिक सूचनाहरु विभिन्न संञ्चार माध्यममा प्रकाशन तथा प्रसारण गर्दै आएको छ ।

जिल्ला अस्पताल ताप्लेजुङको तथ्यांक अनुसार जिल्लामा शनिबारसम्म सक्रिय संक्रमित २७१ छन् । मेरिङदेन गाउँपालिमा १२ जान सक्रिय संक्रमित रहेको जिल्ला कोभिड—१९ जिल्ला फोकल पर्सन तथा जिल्ला जनस्वास्थ अधिकृत प्रतिमा खरेलले बताए । आठराइत्रिवेणी गाउँपालिकामा ८, सिरिजंघा गाउँपालिकामा ११, पाथीभरायाङवरक गाउँपालिकामा ४ र फुङ्लिङ नगरपालिकामा २०३ जना सक्रिया संक्रमित रहेको खरेलले बताए ।

मेरिङदेन गाउँपलिकाका प्रवक्ता सूर्यमान बराइलीले भने ‘‘अहिले सहज वातावरण छैन । कोरोना सर्ने डर उत्तिकै छ । पोहोरको जस्तो होइन ।”

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार