रोपाइँका लागि खेताला पाउनै कठिन

सरकारले आजको दिनलाई राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका रुपमा मनाउने घोषणा गरेसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)सहित देशभर आज रोपाइँ महोत्सव गरिँदैछ । असारलाई मानो रोपेर मुरी उब्जाउने समयका रुपमा समेत कृषकहरुले लिने गरेका छन् । असार लागेसँगै कृषकहरुलाई खेतबारीमा कामको चटारो छ । मकै स्याहार्न तथा धान रोप्ने खेतको तयारीमा कृषकहरु जुटेका छन् ।

जिल्लाका अधिकांश स्थानमा बर्खेधानको रोपाइँ सुरु भइसकेको छ । खेत रोप्दै गरेका भने खेतीपानी गर्नका लागि खेताला नपाउने समस्या रहेको बताउँछन् । प्रविधिको विकाससँगै खेतबारीमा राँगा र गोरुले जोत्ने चलन हराइसक्यो । इन्धनको मूल्यवृद्धि भएसँगै ट्र्याक्टरको प्रयोग अत्यधिक महँगिएको किसानहरुले अनुभूति गरेका छन् । पछिल्लो समय कृषकहरुलाई खेती गर्नका लागि झन् भन्दा झन् गाह्रो हुँदै गएको कावासोती–१७ का कृषक पिताम्बर सुवेदीले बताए । “अहिले खेतबारीमा काम गर्ने खेतालाहरु पाउनै मुस्किल छ । खेताला पाइहाले पनि रोपाइँका लागि आवश्यक पर्ने सिँचाइको असुविधा छ,” उनले भने, “महँगीका कारण सबै कुराको भाउ अत्यधिक बढ्यो । अब खेती किसानी गरेर जीवन निर्वाह गर्न सक्ने अवस्था बिस्तारै हराउन थालेको छ ।”

गाउँघरका युवाहरु विदेसिने क्रम बढेकाले समेत कृषि कर्मका लागि खेतालाहरु पाउनै कठिन भएको मध्यविन्दु–३ का कृषक जुगतराम थनेतको भनाइ छ । “धान खेतीका लागि आधुनिक प्रविधि भित्रिएको भए पनि ती प्रविधिहरु सबै कृषकको पहुँचमा छैनन्,” उनले भने, “प्रविधिबाट रोपाइँको काम सुरु भए पनि केही कामका लागि भने मानिसको श्रम नै आवश्यक पर्छ तर काम गर्ने युवाहरु तथा जनशक्ति नै छैनन् ।” गाउँघरमा बूढाबूढी र केटाकेटी तथा महिला मात्रै भेटिने गरेका भन्दै थनेतले आवश्यक पर्ने बेलामा बाउसे र रोपाहारहरु पाउनै नसकिने बताए ।

मुस्किलले पाउने खेतालाको ज्याला र धान रोप्दा लागेको खर्च जोड्ने हो भने आम्दानीभन्दा खर्च बढी लाग्ने गरेको थनेतको भनाइ छ । उन्नत जातको धान रोपेर धेरै उत्पादन गर्ने अभिलाषा पाल्नुभएका उनले धान बेचेर नै वर्षभरिको खर्च धान्ने गरका छन् । तर सबै क्षेत्रमा महँगी बढेसँगै खेती गर्न गाह्रो भएको थनेतले गुनासो गरे । “खेताला महँगिएका छन् । ट्र्याक्टर भाडा उस्तै महँगो छ । उत्पादनभन्दा खर्च बढी भएको छ । अब कसरी खेतीपाती गरेर जीविका चलाउने हो रु,” उनले भने, “एकजना खेतालाले प्रतिघण्टा रु १२० का दरले ज्याला लिन्छन् । अनि ट्र्याक्टरले जोतेको प्रतिमिनेट रु ४५ लिने गरेको छ ।” धान रोपाइँका लागि खेताला नपाउने समस्या एकतिर हुँदाहुँदै अर्कोतिर धानबालीमा हाल्ने मलको अभावसमेत कृषकहरुले खेप्नु परेको उनको भनाइ छ । धान रोप्ने समयमा कहिल्यै पनि रासायनिक मल नपाउने गरेको जनाउँदै उनले सहकारीमा गएर घण्टौँ लाइन बस्दा पनि रित्तो हात फर्किनुपर्ने अवस्था रहेको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार