अर्थतन्त्रमा देखिएको असामान्य अवस्थामा सन्तुलन ल्याउने चुनौती छ : डा. भट्ट
चालु आर्थिक वर्षमा १० खर्ब विप्रेषण भित्राउँदा आयात १९ खर्ब पुग्न सक्छ
पछिल्लो केही महिनायता नेपालको अर्थतन्त्रमा गम्भीर समस्या देखिएको भन्दै यस क्षेत्रका जानकारहरुले सरकारलाई खबरदारी गरिरहेका छन् । बैङ्कहरूसँग लगानीयोग्य रकम छैन, आयात अत्यधिक बढेको छ । विदेशी मुद्रा भित्र्याउने दुई प्रमुख माध्यम रेमिट्यान्स र पर्यटनको आय नबढ्दा चालु खाता घाटा बढेको बढ्यै छ । जसले गर्दा विदेशी मुद्राको सञ्चिती घटेर करिब ५ देखि ७ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने मात्र स्थिति छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरूले अर्थतन्त्रमा देखिएको समस्याको विषय उठाउँदै सरकारमाथि दोष लगाइरहेका छन् । अर्थमन्त्री जनार्दन शर्मा विगतका सरकारले लिएको अदूरदर्शी नीति र निर्णयका कारण यो अवस्था आएको भनिरहेका छन् । यस्तो अवस्थामा सरकारको मुख्य आर्थिक सल्लाहकार नेपाल राष्ट्र बैङ्क र विभागीय मन्त्रालयकाबीचमा समेत आवस्याक समन्वयात्मक भूमिका कायम हुन नसकिरहेको चर्चा छ । यही अवस्थामा नेपाल राष्ट्र बैङ्कले आगामी आर्थिक वर्षको लागि मौद्रिक नीति तर्जुमा गर्दैछ। नेपालको पछिल्लो आर्थिक अवस्थासँगै, बैङ्कहरूमा विद्यमान तरलता अभाव र नेपाल राष्ट्र बैङ्कले ल्याउने मौद्रिक नीतिका विषयमा केन्द्रित रहेर टिभी अन्नपूर्णकर्मी शर्मिला सुवेदीले नेपाल राष्ट्र बैङ्कका प्रवक्ता डा. गुणाकर भट्टसँग गरेको कुराकानीको सम्पादित अंश :
देशमा देखिएको आर्थिक सङ्कटलाई उकास्ने गरि नेपाल राष्ट्र बैङ्कले अब कस्तो प्रकारको मौद्रिक नीति ल्याउँदै छ ?
अहिले मौद्रिक नीति तर्जुमाको परिवेश हेर्ने हो भने त्यति सहज छैन । जटिल परिस्थितिमा मौद्रिक नीति तर्जुमा गर्दै छौँ । मुख्य रूपमा अहिले मौद्रिक नीति तर्जुमाको कुरा गर्दा बाह्य क्षेत्रमा ठुलो दवाव सिर्जना भएको छ । व्यापार घाटा उच्च छ भने सोधानन्तर स्थिति घाटामा रहेको छ । १० महिनाको तथ्याङ्क हेर्दा २८८ अर्बको सोधानन्तर घाटा छ । यो नेपालको उच्च घाटा हो । चालु खाता पनि घाटामा रहेको छ । त्यसैगरी विदेशी विनिमय संञ्चितीमा दबाब छ । यस्तो परिवेशमा हामी मौद्रिक नीति तर्जुमा गर्नुपर्ने छ । यो सँगसँगै हामी तरलता अभावको दबाबमा पनि छौँ । हाम्रो आयात उच्च रहेको छ र आयातलाई फाइनान्स गर्ने स्रोतहरू सीमित छन् । त्यसमा विप्रेषण आप्रवाह नै मुख्य स्रोत हो । चालु आर्थिक वर्षमा हामीले १० खर्ब बराबरको विप्रेषण भित्राउन सक्यौ भने अर्कोतर्फ आयात १९ खर्ब नाघ्ने अवस्थामा छ । आयात र आयातलाई फाइनान्स गर्ने स्रोतकोबिच ग्याप बढ्दै गएको छ । यो दबाबकाबिच हामीले मौद्रिक नीति तर्जुमा गर्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा आउने मौद्रिक नीतिका लागि हामी अहिले सुझाव सङ्कलनको अवस्थामा मात्रै छौं ।
यसपटकको मौद्रिक नीतिमा के के कुराहरूलाई प्राथमिकता राख्नुहुन्छ ?
हामी मौद्रिक नीति तर्जुमाको प्रराम्भीक चरणमा छौँ । अहिले सुझाव सङ्कलनको काम भइरहेको छ । मौद्रिक नीति तर्जुमाका हाम्रा विभिन्न चरणहरू हुन्छन् । ती चरणहरू आउन बाँकी नै छ । सरोकारवालाहरूसँग थप अन्तरक्रिया हुन्छ । त्यसैगरी आन्तरिक र बाह्य रूपमा छलफल गरेर मौद्रिक नीतिको प्राथमिकताबारे तय हुन्छ । अहिले मौद्रिक नीतिको परिवेश अत्यन्तै दबाबमूलक छ र त्यसलाई दृष्टिगत र विश्लेषण गरेर मौद्रिक नीति तर्जुमा गर्नुपर्ने छ र हामीले देशको आर्थिक अवस्थालाई हेरेर तर्जुमा गर्छौ ।
अहिले बैङ्किङ क्षेत्रमा देखिएको तरलताको समस्या कुन अवस्थामा छ ?
बैङ्किङ क्षेत्रमा तरलताको दबाब छ । नेपाल राष्ट्र बैङ्कले निरन्तर दिनहुँ जसो स्थायी तरलता सुविधा दिइरहेको छ । हामीले अहिले हेर्ने हो भने राष्ट्र बैङ्कले दिइरहेको हरेक दिनको स्थायी तरलता सुविधा २ खर्ब बढीको छ । त्यसैगरी हामीले १ सय १५ अर्ब पुर्नकर्जा बजारलाई उपलब्ध गराएका छौँ । स्थायी तरलता सुविधा र पुर्नकर्जा सुविधा हेर्ने हो भने हरेक दिन नेपाल राष्ट्र बैङ्कले तीन खर्ब बराबरको सुविधा उपलब्ध गराइरहेको छ । यसले प्रष्ट रूपमा बैङ्कहरूमा ठुलो तरलता दबाब देखाउँछ । राष्ट्र बैङ्कले दिइरहेको सुविधामा थोरै पनि नियन्त्रण गर्ने बित्तिकै बैकिंग क्षेत्रमा ठुलो तरलता दबाब पर्न जान्छ ।
निर्वाचनपछि बैङ्कहरूमा तरलता अभाव हट्छ भनिएको थियो । त्यसपछिको अवस्था के भयो ?
स्थानीय निर्वाचनको बेला स्वाभाविक रूपमा बजारमा खर्च हुन्छ र त्यसले तरलतालाई सहजता बनाउँछ भन्ने अपेक्षा थियो । तर तरलता सहज हुन सकेन । अहिले हेर्ने हो भने हाम्रो हरेक महिनाको आयात घटेको छैन । अहिले ११ महिनाको तथ्याङ्क हेर्ने हो भने १७ खर्ब ६३ अर्बको आयात भएको देखिन्छ जुन उच्च आयात हो । मासिक १५० अर्बको आयात भएको छ र यो आयातले हामीसँग उपलब्ध भएको तरलताले आयातको फाइनेन्सिंगको लागि काम गइरहेको छ । त्यसैले अहिले पनि तरलता सहज हुन सकेको छैन । नेपाल सरकारले स्थानीय तहमा रहेको बैङ्कको निक्षेपको ८० प्रतिशतसम्म निक्षेपको रूपमा काउन्ट गर्न दिने व्यवस्था गरेको छ र त्यो गर्दा पनि तरलतामा सहजता छैन । यो आर्थिक वर्षको अवस्था हेर्ने हो भने ५ खर्ब बढीको कर्जा बिस्तार भएको छ । साढे २ खर्बको हाराहारीमा निक्षेप सङ्कलन भएको देखिएको छ । यसले वित्तीय साधनको परिचालनमा असन्तुलन छ र तरलता अभावको समस्या कायमै छ ।
कर्जाको कुरा गर्दै गर्दा अहिले बैङ्कहरूमा कर्जा प्रवाहमा समस्या देखिएको छ, यो समस्या के हो ?
कर्जा प्रवाहमा समस्या छ । अहिले समग्रमा प्रणालीमा देखिएको दबाब छ बिशेषगरी अन्तर्राष्ट्रिय परिस्थितिका कारणले जसले गर्दा आयातको हिस्सा लिएको छ । अन्तर्राष्ट्रिय बजारमा भएको महँगी वृद्धिले पनि हाम्रो आयातको रकमलाई बढाएको छ । जसले गर्दा तरलतालाई अप्ठ्यारो बनाएको छ । आज जुन तरिकाले कर्जा बिस्तार भएको छ त्यसलाई थप गर्नुपर्ने देखिँदैन र स्रोतहरू पनि छैनन् ।
नेपाल राष्ट्र बैङ्कलाई सरकारको सल्लाहकारको रूपमा लिइन्छ । तर राष्ट्र बैङ्क र अर्थ मन्त्रालयबिच भने समस्या छन् भनेर बेलाबेलामा टीकाटिप्पणी पनि हुने गर्छन्, यो खास के हो ?
नेपाल राष्ट्र बैङ्क र अर्थ मन्त्रालय भनेको अर्थतन्त्रको व्यवस्थापनमा, सञ्चालनमा महत्त्वपूर्ण भूमिका खेल्ने निकाय हुन् । त्यसैले यी दुई वटा निकायमा समन्वय गरेर काम हुन्छ र भइरहेको छ । सधैँ समन्वयकै आधारबाट काम हुन्छ । त्यसैले जेजती नीतिगत विषयहरूलाई उठान गर्छौ, नीति तर्जुमा गर्छौ र ती नीति नीति तर्जुमा गर्दा राम्रो समन्वय भइरहेको छ ।
नेपाल राष्ट्र बैङ्कको ४/१२ को नीतिले गर्दा सेयर बजारमा समस्या आयो भन्ने छ, यसमा के भन्नुहुन्छ ?
नेपाल राष्ट्र बैङ्कले आफ्ना नीतिहरू तर्जुमा गर्दा समष्टिगत आर्थिक स्थायित्वलाई कसरी प्रवर्धन गर्न सकिन्छ, अर्थतन्त्रलाई कसरी सही तरिकाले अगाडी बढाउन सकिन्छ भन्ने विषयमा सधैँ नीति तर्जुमा गरिरहेको हुन्छ । विगतमा मौद्रिक नीति तर्जुमा गर्दा पनि यही अभ्यास नेपाल राष्ट्र बैङ्कको ऐनले दिएको म्यान्डेटरीमा रहेर गर्छ । राष्ट्र बैङ्कले तर्जुमा भनेको समग्र अर्थतन्त्रका लागि हुन्छ । हामी माइक्रो लेभल भन्दा पनि ब्रोडर म्याक्रो लेभलबाट हेरेर नीति तर्जुमा गरिरहेका हुन्छौँ । त्यसैले राष्ट्र बैङ्कका नीतिले समस्या ल्याउँदैनन् । समस्या समाधान गर्छन् ।
अहिले नेपालको अर्थतन्त्रको अवस्था कस्तो हो ?
अहिले हामी नेपालको अर्थतन्त्रलाई दुई वटा हिसाबबाट हेर्नुपर्ने हुन्छ । एउटा आर्थिक गतिविधिहरू चलायमान भइरहेका छन् । पर्यटन क्षेत्र कोरोना महामारीका कारण प्रभावित भएको थियो जुन अहिले सामान्य अवस्थामा फर्कँदै छ भने अरू कुरा पनि सामान्य भइरहेका छन् । अर्को तिर हेर्ने हो भने हाम्रा समष्टिगत अर्थतन्त्रका सूचकहरू जस्तै विनिमय सञ्चिती, मुद्रा स्फिर्तीमा दबाब रहेको छ । बजारमा तरलतामा दबाब रहेको छ । स्थायित्व र अर्थतन्त्रमा देखिएको असामान्य अवस्था बिचमा कसरी सन्तुलन कायम गर्ने चुनौती छ ।
प्रवक्ता डा. भट्टसँग गरिएको भिडियो कुराकानी