बुधबार एमओयूमा हस्ताक्षर गर्ने भनिएको सिभिल र हिमालयबीचको मर्जरमा प्रक्रियामा फेरि विवाद

भोलि एमओयूमा हस्ताक्षर गर्ने भनिएको सिभिल बैंक र हिमालयन बैंकबीचको मर्जर सम्झौताको प्रक्रियामा समस्या उत्पन्न भएको छ । स्वाप रेसियोको विषयमा भएको १००:९० को प्रारम्भिक सहमतिमा हिमालयन बैंकले विवाद झिकेपछि मर्जर प्रक्रियामा समस्या उत्पन्न भएको हो । दुई बैंकबीच भोलि एमओयूमा हस्ताक्षर गर्ने तयारी थियो । तर हिमालयन बैंकले अन्तिम समयमा १००:८५ को रेसियोमा जाने भनेपछि मर्जरमा समस्या उत्पन्न भएको सिभिल बैंक स्रोतको भनाई छ । उता हिमालयन बैंकले एक सञ्चालकले भने दुई बैंकबीच ८०: १०० को स्वाप रेसियोमा सहमति बनिसकेको भएपनि अन्तिम समयमा सिभिल बैंकले ९० को कुरा उठाएको बताए ।

अहिलेपनि छलफलमै भएकाले भोलि वा पर्सीमा एमओयूमा हस्ताक्षर हुने गरि मर्जरमा जान कुनै समस्या नआउने उनको भनाई छ । नाम उल्लेख नगर्ने शर्तमा उनले भने हिमालयले १०० :८५ दिन तयार भएर प्रक्रिया अघि बढ्छ ।राष्ट्र बैंकले असार मसान्त भित्रै बैंकहरुलाई मर्जरमा जान दबाब दिइरहेका बेला हिमालयन र सिभिल बैंकबीच मर्जरका लागि भएको छलफल सहमति नजिक पुगेको हो ।

इन्भेष्टमेन्ट बैंकसँग मर्जर भाँडिएको हिमालयन बैंकले इन्भेष्टमेन्ट मेगासँग मर्जमा जान थालेसँगै सिभिल बैंकसँग मर्जरको छलफल थालेको थियो । ऐन अनुसार मर्जर प्रकृया तोडेका बैंकहरुले तीन बर्ष भित्र अनिवार्य रुपमा अर्को उपयुक्त पार्टनर छनोट गनुपर्ने भएकाले यसपटक हिमालयलाई सिभिलको प्रस्तावमा बढि लचिलो बन्नुपर्ने बाध्यता छ ।

वाणिज्य बैंकहरू आगामी असार मसान्तसम्म पनि मर्जरमा जान तयार नभए कडा नीति लिने नेपाल राष्ट्र बैंकले संकेत गरेसँगै मर्जरको एजेन्डा फेरि चर्चामा थियो। राष्ट्र बैंकले असारमसान्तसम्म मर्जर जाने बैंकहरुलाई मात्रै सुविधा प्रदान गर्ने भएकाले पनि बैंकहरुबीच मर्जरको छलफल तीब्र बनेको छ । यसबाहेक केहि बैंकहरुबीच सबैभन्दा ठुलो बैंक को हुने भन्ने प्रतिष्पर्धा छ ।

हाल सबैभन्दा ठुलो बैंक ग्लोबल आईएमई बैंकका लागि मेगा र इन्भेष्टमेण्ट बैक चुनौति देखिएपछि यो बैंकले गतहप्तामात्रै बैक अफ काठमाण्डौसँगको प्रारम्भिक मर्जर सम्झौतामा हस्ताक्षर गरेको छ । यस्तै नबिल बैंक र एनबी बैंकबीचको मर्जरमा किचलो उत्पन्न भईरहेका बेला नबिलले अर्को बैंक एनसीसीसँग समेत मर्जरका लागि छलफल थालेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार