बाँकेमा कोरोनाबाट ५ महिने गर्भवतीसहित थप पाँच जनाको मृत्यु

बाँके अस्पतालमा भर्ना भएका थप पाँच सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको छ । कोरोनाको उपचार हुँदै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा तीन र शिक्षण अस्पताल कोहलपुरमा दुईजनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार भेरी अस्पताल नेपालगञ्जमा कोरोना भाइरस सङ्क्रमणका कारण ५ महिने गर्भवतीको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका वडा नंं १ बर्दिया निवासी ३४ वर्षीया गर्भवतीको आज बिहान मृत्यु भएको हो ।

यसैगरी भेरी अस्पतालमै उपचाररत नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १९ निवासी ३९ वर्षीय पुरुष र बनागाड कुपिन्डे नगरपालिका ४ सल्यान निवासी ६० वर्षीया महिलाको मृत्यु भएको छ ।

बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा कोहलपुर नगरपालिका वडा नं. ९ निवासी ६१ वर्षीय पुरुष र गुलरिया नगरपालिका वडा नं. १० बर्दिया निवासी ६० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले जानकारी दिए । योसँगै बाँकेमा कोभिड सङ्क्रमणका कारण उपचारका लागि जिल्ला बाहिरबाट आएका १७५ र जिल्लाकै २२९ जनाले हालसम्म ज्यान गुमाइसकेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार