काठमाडौं उपत्यकामा हैजा देखिनुको प्रमुख कारण प्रदूषित खानेपानी

महामारीकै रुपमा फैलनसक्ने जोखिम

काठमाडौं । काठमाडौं उपत्यकामा हैजाका बिरामीको संख्या १२ पुगेको छ । नैकाप र पाटनमा थप एक–एक जना हैजाका बिरामी भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

पाटनमा भेटिएका बिरामीमा गरिएको आरडीटी परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको छ । तर, कल्चर रिपोर्ट आउन बाँकी छ । नैकापका बिरामीको भने भने कल्चर रिपोर्ट पनि पोजिटिभ देखिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अनुसार यसअघि बागबजार, डिल्लीबजार, कपन, सानेपा, बालाजु, बल्खु र थानकोटका मानिसमा हैजा पुष्टि भइसकेको छ ।

जनस्वास्थ्यविद्हरुले संक्रमणको स्रोत पत्ता नलाग्नु वा धेरै स्थानमा हैजाका बिरामीका देखा पर्नु हैजा महामारीकै रुपमा फैलनसक्ने पूर्वसंकेत देखिएको बताएका छन् ।

यता प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा हैजा रोगबारे गरिएको छलफलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले खानेपानी प्रदूषित भएकाले हैजा देखिएको बताए ।

महाशाखाले हैजा देखिएको ठाउँ बागबजार, डिल्लीबजार र सानेपामा रहेका पानी परीक्षण गरेको थियो । उनले धारापानी, जार, टु्यूवेल, बोरिङको पानी परीक्षण गर्दा प्रदूषित पाइएको बताए । उनका अनुसार बागबजारको खानेपानी प्रदूषित रहेको छ । यस्तै सानेपामा परीक्षणका क्रममा ६२ प्रतिशत प्रदूषित भेटिएको उनले जानकारी दिए । “पानी कसरी प्रदूषित भयो भनेर हामीले अध्ययन गरिरहेका छौँ”, उनले भने,“अध्ययनका लागि सबै ठाउँको पानीको नमूना सङ्कलन गरिरहेका छ ।”

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार