घूसप्रकरणमा मुछिएका न्यायाधीश कोइराला ‘निलम्बित’

घूसप्रकरणमा मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित भएका छन् । न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच इच्छाराज तामाङको मुद्दाको विषयलाई लिएर भएको घुस बार्गेनिङको अडियो बाहिरिएपछि न्यायपरिषद बैठकले छानबिन समिति बनाएको थियो ।

छानबिन समिति गठन बारेको सूचना सोमबार राजपत्रमा प्रकाशित भएसँगै उनी निलम्बनमा परेका हुन् । राजपत्रमा प्रकाशित सूचनामा न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच भएको भनिएको टेलिफोन संवाद र सोसँग सम्बद्ध तथ्यहरु सम्बन्धमा तथा कोइरालाले आचरण र कर्तव्यको इमान्दारीपूर्वक पालना नगरेको लगायतका विषयमा छानबिन गर्न समिति बनाइएको उल्लेख छ ।

छानबिन समितिमा उच्च अदालत पाटनका कायम मुकायम मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौडेल सदस्य रहेका छन् । न्यायपरिषद ऐनअनुसार छानबिन समिति गठन भएपछि आरोपी न्यायाधीश स्वतः निलम्बित हुन्छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार