काठमाडौं । नव नियुक्त शहरी विकास मन्त्री मेटमणि चौधरीले नेताहरू घमण्डी भएकाले देश बन्न नसेकेको टिप्पणी गरेका छन् ।सोमबार पद तथा गोपनियताको शपथपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन । उनले मुलुक चलाउने मान्छे घमण्डी हुन्जेल देश अघि बढ्न नसक्ने जिकिर गरे ।
मन्त्री चौधरीले सबैले आफ्नो ठाउँबाट सकेजति देश विकास गर्न सहयोग गर्नुपर्ने बताए। उनले नेताहरूले नीति बनाउँदा आफू सुरक्षित हुने किसिमबाट नीति निर्माण गरेको भन्दै इमान्दारिताको खाडल भर्न अब लाग्ने बेला भएको बताए ।
‘मुलुक अघि जान नसक्नुको एउटा मात्रै कारण के हो भने हामी सबै धेरै घमण्डी भयौं, मुलुक चलाउने मान्छे पनि घमण्डी भयौं, कर्मचारीको बारेमा त के भनौँ र ?’ उनले भने, ‘हामीले आफ्नो तर्फबाट पनि जे गर्नुपर्ने हो त्यो गरिरहेका छैनौं ।’
मन्त्री चौधरीले देश बनाउनको लागि सुदृढ र सशक्त प्रतिवद्धता जनाउन आवश्यक रहेको भन्दै घुस खाने नभइ सामूहिक प्रतिवद्धता जनाएर काम गर्नुपर्ने बताए ।