राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुक अझै पूर्णस्वतन्त्र नभएको बताएका छन् । सोमबार ललितपुरमा आयोजित ‘नेपालमा समाजवाद : चुनौती र सम्भावना’विषयक अन्तरक्रियामा अध्यक्ष केसीले मुलुक अझैपनि पूर्णस्वतन्त्र नभएकाले भिखमग्गा भएको टिप्पणी गरे ।
उनले बहुदलीय व्यवस्थाले जनताका आधारभूत समस्या समाधान गर्न नसक्ने बताए । जनताका समस्या सम्बोधन हुन समाजवाद आवस्यक रहेको भन्दै उनले रुसमा लेनिन र स्टालिनले समाजवाद प्राप्त गर्न के के गर्नुपरेको थियो ? भनेर प्रश्न गरे । ‘त्यहाँ सजिलै समाजवाद आएको थियो ? चुनावमा भोट बटुलेर रुसमा समाजवाद आएको हो ? चीनमा त्यसरी आएको थियो ?’अध्यक्ष केसीले सत्तारुढ दलका शीर्ष नेताहरुतर्फ हेर्दै भने । उनले रुसी नेता खु्रस्चेवले भनेजस्तै शान्तिपुर्ण ढंगले नै पुँजीपतिहरुको मन पगाल्न सकिने बताए ।
उनले चुनाव महंगो भएको भन्दै सर्वसाधारणले चुनाव लड्न नै नसक्ने अवस्था आएको र नेपाल बुढाबुढीको वृद्धाश्रममा परिणत भएकाले राष्ट्रको विकास हुन नसक्ने बताए । उनले अहिलेको उपलब्धि जोगाउनु महत्वपूर्ण भएको भन्दै पाँच दलभित्र मनमुटाव र समस्या भएपनि संविधान र गणतन्त्र जोगाउनुको विकल्प नभएको बताए ।