नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले काम गरेर प्रतिफल दिनुपर्ने बताएका छन् । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर २ ले दुलेगौँडामा आयोजना गरेको स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा प्रशिक्षण कार्यक्रममा उनले जनमुखी काम गरेर जनताको विश्वास जित्दै परिणाम दिनुपर्ने बताए ।
जनप्रतिनिधिले जनमुखी काम गरेर परिणाम दिनुपर्ने बताउँदै थापाले भने“जनप्रतिनिधिमाथि पाँच वर्ष धेरै ठूलो जिम्मेवारी आएको छ, केही काम गर्नुपर्नेछ, परिणाम दिनुपर्नेछ । त्यसमा जनप्रतिनिधि गम्भीर भएर लाग्नुपर्छ ।”
महामन्त्री थापाले स्थानीय तहले नागरिकको स्वतन्त्रतालाई विचार गर्नुपर्ने भन्दै शासनमा जवाफदेहिता र पारदर्शीता कायम गर्नुपर्ने धारणा व्यक्त गरे । सेवा प्रवाहमा सिर्जनशीलता हुनुपर्ने भन्दै महामन्त्री थापाले सेवा प्रवाहलाई सहज र सरल बनाउनुपर्ने बताए । “स्थानीय तह जनताको सेवक भएर काम गर्नुपर्छ, स्रोतको राम्रो परिचालन गर्न सक्नुपर्छ, तब मात्र जनताको अपेक्षा पूरा गर्न सकिन्छ”, महामन्त्री थापाले भने ।