काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले राजधानीको मुटुमै रहेको दरबार हाईस्कुलमै पाठ्यपुस्तक अभाव रहेको बताएका छन् ।आज बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले देशभरका विद्यालयले पाठ्यपुस्तक अभाव झेलिरहेको भन्दै यस्तो बताएका हुन् ।
‘शैक्षिक सत्रको एक महिना १३ दिन बित्यो । माध्यमिक तहमा अध्ययनरत ८० लाख विद्यार्थीमध्ये ७५ प्रतिशत सामुदायिक विद्यालयका विद्यार्थीहरूले अझै पाठ्यपुस्तक पाएका छैनन्’, उनले भने, ‘१ देखि ३ को पाठ्यपुस्तक निजी क्षेत्रलाई जिम्मा दिएकोमा उसले आपूर्ति गरिसक्यो । माध्यमिक तहको जिम्मा लिएको जनक शिक्षा सामग्री केन्द्रले के गरिरहेको छ ?’
सांसद भट्टराईले आफ्नो जिल्ला ताप्लेजुङदेखि प्रधानमन्त्री शेरबहादुर देउवाको जिल्ला डडेल्धुरा, शिक्षामन्त्री देवेन्द्र पौडेलको जिल्ला बागलुङदेखि राजधानी काठमाडौंसम्मका सामुदायिक विद्यालयका विद्यार्थीले पाठ्यपुस्तक अभाव झेलिरहेको बताए ।