राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्रलाई संस्थागत गराउन राजसंस्थाको मुद्दालाई छोडेको बताएका छन् । धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले राजसंस्थालाई संस्थागत गराउन पार्टी स्थापना भएपनि अहिले सो मुद्दा छाडेको बताएका हुन् ।
उनले पार्टीको सिद्धान्त र विचारलाई समय काल र परिस्थितिअनुसार परिमार्जन गर्दै अघि बढ्नुपर्ने समेत बताए ।अध्यक्ष थापाले सो मुद्दा उठाउँदा हिन्दु राष्ट्रको नारा समेत ओझेलमा पर्न लागेको बताए ।
‘देश र जनताको भावनाको सम्मान गर्दै राजसंस्थाको एजेण्डा छोड्ने निर्णय गरेका हौं’ उनले भने– ‘राजसंस्थाको एजेण्डा बोकी रहँदा हिन्दु राष्ट्र कहिल्यै पुनःस्थापना नहुने, पार्टी देशको अग्रणी स्थानमा नहुने, मुलुकको आर्थिक सामाजिक विकासको एजेण्डा पनि पुरा गर्न नसकिने भएकाले हामीले एजेण्डा छाडेका हौं ।’
पार्टीले राजसंस्थाको एजेण्डा छाडे पनि मूलभूत एजेण्डाहरु यथावत रहेको बताए ।
‘हामीले हिन्दु राष्ट्र स्थापना गराउन सकेनौं‚ । तर, धर्मनिरपेक्षता, गणतन्त्र र संघीयता अपरिवर्तनीय होइन । जनताको अभिमतबाट परिवर्तन गराउन सकिन्छ भन्ने अधिकार हामीले स्थापित गरेका छौं’ उनले भने –‘त्यही अधिकारका कारणले गर्दा आज राजसंस्थाको पक्षमा, हिन्दु राष्ट्रको पक्षमा र संघीयताको विरुद्धमा आवाज उठाउन पाउने अधिकार हामीले प्राप्त गरेका छौंँ ।’