प्रधानमन्त्री ओली र नेता नेपालबीच सिंहदरबारमा वार्ता सुरु

पार्टी विवाद हल गर्ने सहमति गरेका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबिच सिंहदरबारमा छलफल सुरु भएको छ ।

वार्ताका लागि नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकण विष्ट र रघुजी पन्त सिंहदरबार पुगेका छन् । अध्यक्ष ओलीका तर्फबाट विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेल पनि छलफलमा सहभागी भएका छन् । बिहीबार दिउँसो ओली र नेपालबीच भएको सहमति कार्यान्वयनबारे थप छलफल गर्न सिंहदरबारमा वार्ता सुरु भएको हो ।

बिहीबार बूढानीलकण्ठस्थित व्यापारी रामेश्वर थापाको घरमा नेताद्वयबीच भएको ‘वान टू वान’ वार्तामा २०७५ जेठ २ कै वरिपरिको एमाले रहने गरी सहमति खोज्ने र त्यसका लागि कार्यदल बनाउने सहमति भएको थियो । त्यही सहमतिलाई कार्यान्वयन तहमा पुर्‍याउन दोस्रो तहका नेताहरूहरूसहित वार्ता शुरू भएको हो ।

ओलीसँग वार्तामा बस्नुअगाडि नेता नेपाल समूहको केन्द्रीय सदस्यहरुको भर्चुअल बैठक बसेको थियो । बैठकमा नेता नेपालले ओलीसँग भएको वार्ताबारे ब्रिफिङ गरेका थिए । आफू निकट केन्द्रीय सदस्यहरुलाई नेता नेपालले ओलीले पार्टीलाई २ जेठ २०७५ को अवस्थामा फर्काउन तयार भएको बताएका थिए । शुक्रबारको वार्ताबाट कार्यदल बनाउने लगायतबारे छलफल हुने तयारी छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार