कांग्रेस र कम्युनिस्ट नमिल्दासम्म कहिल्यै जनताले अधिकार पाएनन् : वामदेव गौतम

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले कांग्रेसलाई हेर्ने आफ्नो दृष्टिकोण बदलिएको बताएका छन् ।

शनिबार अभियानको दोस्रो राष्ट्रिय भेलालाई संम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका गौतमले  कांग्रेस र कम्युनिस्ट पार्टीहरू मिल्दा मात्रै नेपालमा परिवर्तन र विकास सम्भव भएको बताएका हुन् । ‘पहिले हामीले नेपाली कांग्रेसलाई गाली गर्‍यौँ । यो दलाल पुँजीपतिहरूको पार्टी हो भनेर भन्यौँ । तर नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी नमिल्दा सम्म कहिल्यै पनि जनताले अधिकार पाएनन् ।’ उनले भने ।

साथै उनले थपे- ‘सबैभन्दा पहिले २०४७ सालमा संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र पुनस्स्थापना भयो । त्यसपछि कांग्रेस र कम्युनिस्ट मिले, राजतन्त्र समाप्त भयो र संवैधानिक लोकतान्त्रिक गणतन्त्र स्थापना भयो ।’

गौतमले स्थानीय निर्वाचनमा कांग्रेस पहिलो शक्तिको रुपमा उदाएकोले अब तीन पार्टी एक हुनुपर्ने बताए। नेपाली कांग्रेस प्रदेश र प्रतिनिधि सभाको निर्वाचनपछि बलियो हुनेसमेत उनले बताए। ‘प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा गठबन्धन भए कांग्रेस बलियो हुन्छ। त्यसपछि पाँच वर्ष कांग्रेसले सरकार चलाउँछ। अनि त्यसपछि कांग्रेसलाई गठबन्धन आवश्यकता हुँदैन,’ गौतमले भने, ‘अनि कम्युनिस्ट ओरालो लाग्छ। भारतीय कम्युनिस्ट आन्दोलनको हालत हुन्छ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार