तीन दलको बैठक: दीर्घकालीन रूपमा सहकार्य गर्न सहमत

विपक्षी दलहरू नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादीको उपेन्द्र– बाबुराम पक्ष दीर्घकालीन रूपमा सहकार्य गर्न सहमत भएका छन् ।
काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा शुक्रवार बसेको तीन दलका शीर्ष नेताहरूको बैठकले संविधानको रक्षा र लोकतन्त्रका लागि दीर्घकालीन रूपमा सहकार्य गर्ने समझदारी बनाएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
सभापति देउवासहित काँग्रेसका नेताहरू, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका नेताहरू र जसपाका अध्यक्ष यादवसहितका केही नेता बैठकमा जुटेका थिए । बैठकमा गठबन्धन सरकारका लागि दाबी पेस गर्ने भनिए पनि अन्तिममा बहुमत पुर्‍याउन नसकेको बिहीबारको घटनाबारे समीक्षा भएको नेताहरूले जनाएका छन् । तीन दलले सरकार कोरोना सङ्क्रमण नियन्त्रणका लागि असफल भएको ठहर गर्दै त्यसका विरुद्ध संयुक्त रूपले जनचेतना जगाउने काम गर्ने समझदारी पनि गरेका छन् ।
काँग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र बाबुराम पक्ष मिलेर प्रधानमन्त्री केपी ओलीको विकल्पमा काँग्रेस सभापति शेरबहादुर देउवालाई अघि सार्ने सहमति गरेका थिए । उनीहरूको सहमतिमा सुरुमा साथ दिएका एमालेका खनाल नेपाल पक्षले अन्तिममा साथ छोडेपछि विपक्षी गठबन्धनले बहुमत जुटाउन सकेको थिएनन् ।सरकारी गठबन्धन बनाउन तयार भएका तीनै नेता अहिले विपक्षी गठबन्धनलाई निरन्तरता दिन तयार देखिएका हुन् ।
Loading...