हिमालयन र एभरेष्ट इन्स्योरेन्सले पाए मर्जरका लागि अन्तिम स्वीकृति

बीमा समितिले हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सलाई मर्जरका लागि अन्तिम स्वीकृत दिएको छ । उक्त कम्पनीहरुले गत वैशाख २३ गते एक आपसमा गाभिने सम्झौता गरेका हुन्।

बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले २०६९ चैतभित्र पुँजी वृद्धिका लागि निर्देशन जारी गरेपछि तोकिएको पुँजी पुर्‍याउन बीमा कम्पनीहरु यतिबेला दबावमा छन्। सोही क्रममा यी दुई बीमा कम्पनीले एक हुने निर्णय गरेका हुन्।

मर्ज भएपछि बन्ने संयुक्त कम्पनीको चुक्ता पुँजी २ अर्ब ४३ करोड रुपैयाँनजिक पुग्नेछ। अहिले एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी सवा एक अर्ब रुपैयाँभन्दा थोरै बढी छ भने हिमालयनको एक अर्ब १७ करोड हाराहारी छ।

समितिले निर्जीवन बीमा कम्पनीका लागि न्यूनतम साढे दुई अर्ब रुपैयाँ पुँजी तोकेको छ। यो सीमा २०७९ चैतभित्रमा पुर्‍याइसक्नु पर्नेछ।

निर्धारित पूँजी उक्त समयावधिभित्र पुर्‍याउन नसक्ने कम्पनीहरुले ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी निर्देशिका, २०७६’ बमोजिम हुनेगरी पुँजी कायम गर्नुपर्ने भन्दै समितिले निर्देशन जारी गरेको थियो।

पुँजी वृद्‍धिका लागि हकप्रद सेयर जारीलाई प्राथमकितामा नराख्न पनि हालै समितिले निर्देशन दिएको छ। हकप्रद जारी बिनै तोकिएको पुँजी पुर्‍याउनुपर्ने निर्देश गर्दै समितिले बीमा कम्पनीहरुलाई मर्जरमा जान बाध्य पारेर संख्या घटाउन खोजेको देखिएको छ।

बीमा समितिले २०६९ चैतभित्र चुक्ता पुँजी वृद्धि गर्न अनिवार्य निर्देशन गरेपछि बीमा कम्पनीहरु अहिले मर्जरमा जान बाध्य भएका छन्। यी दुई निर्जीवन बीमा कम्पनीहरु पनि पुँजी बढाउने दबाबमै मर्जरमा जान लागेका हुन्।

सम्झौतापछि सैद्धान्तिक सहमति पाएको कम्पनीहरुले अन्तिम स्वीकृति दिएको समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाले बताए। कम्पनीहरुले केहि दिनअघिनै स्वीकृत पाएको उनले भने। मर्जरमा जाने कम्पनीहरुले निर्देशिका अनुसार विभिन्न चरण पार गर्दै जानु पर्ने समितिले जनाएको छ ।

दुई इन्स्योरेन्सको मर्जर सहमति अनुसार संस्था एक आपसमा १:०.८५ अनुपातमा गाभिने सम्झौता गरेका हुन्। निर्धारण गरिएको मर्ज अनुपात अनुसार एभरेष्ट इन्स्योरेन्स कम्पनीको १०० कित्ता हुने सेयरधनीले मर्जरपछि हिमालयन जनरल इन्स्योरेन्सको ८५ कित्ता सेयर प्राप्त गर्नेछन्।

मर्जरपश्चात् हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको नामबाट निर्जीवन व्यवसाय गर्ने विशेष प्रस्ताव स्वीकृत हुनेछ।

यस्तै, मर्जरपछि इन्स्योरेन्सको एकिकृत खुद बीमा आर्जन ७० करोड ६६ लाख रुपैयाँ पुग्नेछ। र, इन्स्योरेन्सको जारी बीमालेखको संख्या एक लाख ३४ हजार अधिक हुनेछ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार