सेयर लगानीकर्ता र धितोपत्र बोर्डबीच सहमति, कोइरालाले तोडे अनसन

सेयर बजार सुधारका लागि भन्दै आमरण अनसन बसेका तिलक कोइराला पक्षधर र धितोपत्र बोर्डबीच सहमति भएको छ । शुक्रबार दुबै पक्षबीच सहमति भएसँगै कोइरालाले अनसन तोडेका छन् । पूँजीबजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालालाई नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले जुस पिलाएर शुक्रबार अनसन तोडाएका हुन् ।

संघर्ष समितिले राखेका माग पुरा गर्न नेपाल धितोपत्र बोर्डले कार्यान्वयन समितिले बनाएसँगै कोइराला अनसन तोड्न राजी भएका हुन् । अनसान तोड्नुअघि बोर्ड अध्यक्ष हमालले लानीकर्ताले उठाएका १९ बुँदे माग पुरा गर्न नवगठित कार्यन्वयन समितिले आइतबारबाटै काम थाल्ने प्रतिवद्धता जनाएका थिए ।

मुद्रा तथा पुँजी बजारका समस्या अध्ययन गर्न अर्थ मन्त्रालयले गठन गरेको समितिको ५८ बुँदे सुझावका बाँकी काम गर्न गराउन, पुँजी बजारको समस्या सम्बन्धमा अर्थ मन्त्रालयसँग निकट रहेर काम गर्ने सहमति भएको छ ।

त्यस्तै वाणिज्य बैंकका सहायक कम्पनी र अन्य संस्थागत पब्लिक कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गर्ने सम्बन्धमा नेप्सेसँग आवश्यक समन्वय गर्ने, विदेशमा रहेका श्रमिकलाई सार्वजनिक निष्कासनमा १० प्रतिशत आरक्षण गर्ने काम साउनदेखि कार्यान्वयनमा ल्याउने सहमति भएको छ । क्रमिक रुपमा एनआरएनलाई पनि बजारमा सहभागिता गराइने सहमति भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार