मन्त्री हेरफेरको विवादले एकीकृत समाजवादीमा किचलो

काठमाडौं । नेकपा एसका १० सांसदले अध्यक्ष माधवकुमार नेपालसमक्ष संसदीय दलको बैठक बोलाउन माग गरेका छन् । समाजवादीका चार जना मन्त्रीसहित १० जना सांसदहरुले मन्त्री फेरबदलको विषयमा पार्टीले अपरिपक्व निर्णय गरेको भन्दै तत्काल संसदीय दलको बैठक बोलाउन माग गरेका हुन् ।

उनीहरुले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई ध्यानाकर्षण पत्र बुझाउँदै बजेट अधिवेशन चलिरहेको बेलामा एक्कासि मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरा सही र स्वाभाविक मान्न नसकिने उल्लेख गरेका छन् ।

बिहीबार बुझाएको आठ बुँदे ध्यानाकर्षण पत्रमा स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरीविकास मन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेमबहादुर आले र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । मन्त्रीहरुको कदमलाई अन्य ६ जना सांसदले पनि समर्थन गरेका छन् । समर्थन गर्नेहरुमा कृष्ठलाल महर्जन, गोपालबहादुर बम, बिनादेवी बुढाथोकी,पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र निरा जैरु छन् ।

८ बुँदे ध्यानाकर्षण पत्रमा बजेट अधिवेशन चलिरहेका बेला एक्कासि मन्त्रिमण्डल पुनर्गठन गर्ने कुरा सही र स्वभाविक मान्न नसकिने उल्लेख गरिएको छ ।

यस्तै पूर्व जानकारी पाउँदा स्वाभाविक प्रक्रियाबाट मन्त्री पदबाट राजीनामा गरेर आउँछौँ भनेर नेतृत्वलाई मन्त्रीहरुले दिएको विश्वासमा ठेस पुर्याउने र पटक पटक अपराधीलाई जस्तो व्यवहार गरिएको ध्यानाकर्षण पत्रको दोस्रो बुँदामा आरोप लगाइएको छ । यस्तो व्यवहार कदापी ठीक मान्न नसकिने उनीहरुको भनाइ छ।

यस्तै स्थायी कमिटीको बैठकमा समेत अध्यक्ष माधव नेपालले गठबन्धनमा समस्या भएकाले बजेट पास भएपछि गठबन्धनमा रहेका दलहरूसँग सल्लाह गरेर पार्टीको निर्णय कार्यान्वयन गर्ने भनेर दिएको निष्कर्ष विपरीत पटक पटक आजको भोलि नै मन्त्रीहरुलाई शपथ गराउन प्रधानमन्त्रीलाई दिएको दबाब किमार्थ राम्रो मान्न नसकिने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार