फोहोरको समस्या झनै विकराल बन्दै छ : मन्त्री झाँक्री

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सहरको फोहोरको समस्या झनै विकराल बन्दै गएको बताए । आज बिहीवार काठमाण्डौमा टुकुचा खोलाको फोहर पानी प्रशोधन केन्द्र शिलान्यास गर्दै मन्त्री झाँक्रीले सहरको फोहरको समस्या एक जना गरिबको समस्यालाई निवारण गर्नेभन्दा पनि ठूलो रहेको बताएका हुन । उनले सहरमा फोहोरको समस्या विकराल रहेको भन्दै यसलाई बेलैमा हल गर्नुपर्ने बताए।

फोहर गर्नेसँगै रकम उठाएर फोहरको काम गर्न नसके पुस्तौँसम्म ऋणको भारी बोकिरहनुपर्ने मन्त्री झाँक्रीको भनाइ छ । उनले फोहर घरबाट चोक र खोलामा लगेर थुपार्ने परिपाटी बन्दै गएको भन्दै यसलाई बेलैमा व्यवस्थापन गर्न आवश्यक रहेको बताए ।

उनले भने, ‘सहरका समस्या झनै विकराल छन् । फोहरको समस्या एक जना गरिबको जीवनलाई निवारण गर्नेभन्दा झनै ठूलो छ । आफूले गरेको फोहर ढल, ढलबाट खोलामा र बाहिर ल्याएर चोकमा थुपार्ने संस्कृति बढेर आएको छ । अब जसले फोहर गर्छ उसैसँग पैसा उठाएर काम गर्नुपर्छ भन्ने कुरा स्थापित गर्न सकेनौँ भने पुस्तौँ पुस्तासम्म ऋणको भारी अर्को पुस्तालाई हस्तान्तरण गर्नेछौँ ।’मन्त्री झाँक्रीले असफलताबाट सिकेको पाठलाई अब नयाँ ढङ्गले अघि लैजान आवश्यक रहेको पनि बताए ।

इक्षुमती वा तुखुचा खोला काठमाण्डौको मध्य भागबाट बग्ने गर्छ । तर अव्यवस्थित सहरीकरणका कारण खोला प्रदूषित र अतिक्रमण भएको छ । ट्रिटमेन्ट प्लान्ट बनाएपछि फोहर पानी प्रशोधन हुने र त्यसलाई बाग्मती नदीमा मिसाउने योजना रहेको छ । प्रशोधनका बेला निस्किएको स्लजलाई प्रशोधन केन्द्रबाट बायोग्यास उत्सर्जन गर्न प्रयोग गर्ने योजना छ । यसबाट एक लाख ४५ हजार मानिस लाभान्वित हुने सरकारले विश्वास गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार