अध्यक्षका छोराले तोडफोड गरे गाउँपालिकाको गाडी, मर्मत गर्ने शर्तमा दिइयो माफी

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारका छोरा ज्योतिले बाबुको रिसले सरकारी गाडी तोडफोड गरेका छन् ।

गाउँपालिकाको जिम्मेवारी बाँडफाँडमा नेपाली कांग्रेसबाट निर्वाचित बाबु जयप्रकाशले एमालेलाई पनि भाग दिएपछि छोरा ज्योतिले अध्यक्षले प्रयोग गर्ने प्रदेश १ को १ झ ५७८ नम्बरको सरकारी गाडी तोडफोड गरेका हुन् ।

गाउँपालिकाको बजेट निर्माणलगायतका विषयमा छलफल गर्न मंगलबार गाउँ कार्यपालिका बैठक बसेको थियो । बैठकबाट जयप्रकाशले एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई पनि विभिन्न जिम्मेवारी दिएका थिए ।

एमालेलाई जिम्मेवारी दिएपछि रिसाएका ज्योतिले बुबाले प्रयोग गर्ने सरकारी गाडीको सीसा फुटाइदिएको जनप्रतिनिधिहरुको भनाइ छ । मंगलबार तोडफोड गरेका उनलाई बुधबार पालिकामा सर्वपक्षीय छलफल राखेर माफी दिइएको छ । गाडी मर्मत गर्ने सर्तमा माफी दिइएको पालिका अध्यक्ष गच्छदारले जानकारी दिए ।

पालिका अध्यक्ष गच्छदारले छोराले माफी मागेपछि गाडी मर्मत गर्ने शर्तमा माफी दिएर सहमति गरेको बताए । उनले अब तोडफोड गरे कारवाही हुने बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार