गाँजा खेतीसम्बन्धीको विधेयक छलफलमा ल्याइयोस्

प्रतिनिधि सभाको आज बिहीवारको बैठकमा सांसद शेरबहादुर तामाङले गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक तत्काल छलफलमा ल्याउन माग गरेका छन् ।

उनले नै विसं २०७६ फागुन १० गते नै त्यो विधेयक सदनमा दर्ता गरेका हुन । प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा उनले दर्ता विधेयकको कपी चार दिनभित्र सांसदहरूलाई दिनुपर्ने कानुनी व्यवस्था भए पनि कार्यान्वयन हुन नसकेको भन्दै सभामुखको ध्यानाकर्षण गराए ।

विधेयक दर्ता भएको दुई वर्ष पाँच महिना १६ दिन बितिसकेको उल्लेख गर्दै सांसद तामाङले छलफलमा नल्याएर जनप्रतिनिधिको अधिकार हनन गरिएको बताए । उनले गाँजा औषधिजन्य वनस्पति भएको प्रमाणित भइसकेको र एचआईभी, क्यान्सरलगायत धेरै रोगको पीडा कम गर्ने औषधि हुनसक्ने भएकाले गाँजा खेतीलाई वैधानिक बनाउनेतर्फ अघि बढ्न आग्रह गरे ।

उनले सांसदले उठाएका र समितिले दिएका निर्देशन आठ प्रतिशतभन्दा बढी कार्यान्वयन नदेखिएको भन्दै सांसदले उठाएका विषय संसद्ले कति कार्यान्वनय गर्‍यो भनी प्रश्न गरे ।

सांसद तामाङले देशमा रोजगारीको सिर्जना हुन नसकिरहेको अवस्थामा नेपाली युवा आकाशबाट जाने र बाकसमा आउने दर्दनाक अवस्था रहेको दुःखेसो व्यक्त गरे । यस अवस्थामा त्यो विधेयक पारित भए युवाले रोजगारी पाउने विश्वास व्यक्त गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार